अटिजम एक मस्तिष्क रोग हो, जुन प्रायः बालबालिकामा हुन्छ, पत्ता लगाउन धेरै गाह्रो छ ।
बच्चा एक-दुई वर्षको नभएसम्म अटिजमका लक्षणहरू पत्ता लाग्दैन । यो रोग बच्चाको व्यवहार, उसले देखाउने असामान्य प्रतिक्रिया र ईशाराले मात्र पत्ता लगाउन सकिन्छ । यदि तपाईंको बच्चा अन्य बालबालिकाको तुलनामा मौन रहन्छ वा कुनै पनि कुरामा ढिलो प्रतिक्रिया दिन्छ भने यी लक्षण अटिजमका हुन सक्छन् ।
यो एक विकाससम्बन्धी विकार हो, जसकारण प्रभावित व्यक्तिलाई बोल्न, पढ्न, लेख्न र सामाजिक सम्बन्ध बनाउन कठिनाइ हुन्छ । अटिजम यस्तो अवस्था हो, जसमा यसबाट पीडित व्यक्तिको मस्तिष्कले अन्य व्यक्तिको मस्तिष्कभन्दा फरक ढंगले काम गर्छ । एकै समयमा अटिजमबाट पीडित व्यक्तिहरू पनि एकअर्काभन्दा फरक हुन्छन् । अटिजम यही कारण हुन्छ भन्ने कुरा अहिलेसम्म पत्ता लागेको त छैन । तर यो वंशाणुगत र वातावरणीय कारणले देखा पर्न सक्छ । जसले गर्भमा हुर्किने बच्चाको मस्तिष्कको विकासमा बाधा पुर्याउँछ ।
परिवारमा कसैलाई अटिजम छ भने त्यो परिवारको बच्चालाई अटिजम हुन सक्छ । जस्तो, पहिलो बच्चालाई अटिजम छ भने दोस्रो बच्चामा पनि अटिजम हुन सक्ने सम्भावना बढी हुन्छ । साथै डाउन सिन्ड्रोम भएका बालबालिकामा पनि अटिजम हुने सम्भावना हुन्छ । गर्भावस्थामा आमालाई उच्च रक्तचाप, थाइराइडको समस्या छ भने बच्चालाई अटिजमको जोखिम हुन सक्छ ।
यदि आमाबुबाले ढिलो उमेरमा बच्चा जन्माउँछन् भने उनीहरूबाट जन्मिने बच्चामा अटिजमको जोखिम बढी हुन्छ । गर्भावस्थामा आमाले चुरोट, रक्सी खान्छिन् भने उनीबाट जन्मिने बच्चालाई पनि अटिजम हुने सम्भावना हुन्छ ।
समयभन्दा अघि नै बच्चा जन्मियो वा बच्चा जन्मिनेबित्तिकै आईसीयू वा भेन्टिलेटरमा लामो समय राख्नु पर्यो भने उनीहरूमा यो समस्या देखिन सक्छ । गर्भावस्थाको समयमा आमाले खाएका केही औषधिहरूको साइड इफेक्टको कारण पनि बच्चामा अटिजम हुन सक्छ ।
अटिजमबाट बच्न बच्चाको योजना बनाउनुअघि चिकित्सकसँग आवश्यक परीक्षण र पारिवारिक इतिहासबारे छलफल गर्नुपर्छ ।
ढिलो उमेरमा बच्चा जन्माउने योजना बनाउँदा भने आमालाई उच्च रक्तचाप, थाइराइडको जोखिम हुन्छ र बच्चालाई अटिजमको । त्यसैले सही उमेरमा बच्चा जन्माउने योजना बनाउनुपर्छ । साथै गर्भावस्थामा चुरोट रक्सी नखाने, पोषक तत्त्व भएका खानेकुरा खाने, तब मात्र बच्चाको दिमागको विकास राम्ररी हुन्छ र अटिजमको जोखिम कम हुन्छ ।