प्रतिनिधिसभाको मंगलबार बसेको बैठक प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् ।

संसद् नियमावली अनुसार नचलेको भन्दै उनीहरूले उठेर विरोध गरेका हुन् ।नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बोलेपछि रास्वपा सांसद गणेश पराजुलीले नियमापत्ति गरेका थिए ।

आकस्मिक र शून्य समय सकिएपछि खतिवडालाई बोल्न दिएको भन्दै उनले आपत्ति गरेका थिए । उनले कुन पद्धतिअनुसार खतिवडालाई बोल्न दिएको भन्दै प्रश्न गरे ।

यो खुलाउन नसके उनको भनाई रेकर्डबाट हटाउन माग गरे । यता, उपसभामुख इन्दिरा रानाले भने आकस्मिक समयमा खतिवडालाई बोल्न दिन बिर्सेकाले अहिले बोल्न दिएको बताइन् ।

उनले यसबारे अध्ययन गरेर निर्णय गर्न संसद् सचिवालयलाई निर्देशन पनि दिइन् । त्यसपछि प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

पछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरिएको जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर