
ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ आजदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ।
यस कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । ओम मेगाश्रीको जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ । जसको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयरमध्ये पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि १ लाख ८० हजार कित्ता आइपीओ बाँडफाँट गरिसकेको छ।
यस आइपीओमा प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सकिनेछ। न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । सर्वसाधारणले चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने चैत १२ गतेसम्म म्याद थप हुनेछ ।
आइपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।