प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कोशी प्रदेशसभा बैठकमा विपक्षी दल माओवादी केन्द्र पनि उपस्थित हुने भएको छ। यसअघि उसले बहिष्कार गर्ने चेतावनी दिएको थियो।

तर मंगलबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँगको छलफलपछि माओवादीसहितका विपक्षी दलहरू प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रदेशसभा बैठकमा उपस्थित हुने भएका हुन्।

प्रदेशसभाको बैठक बहिष्कारको चेतावनीपछि मंगलबार बिहान मुख्यमन्त्री कार्कीले माओवादी संसदीय दलका नेता इन्द्र बहादुर आङबोलाई भेटेका थिए। दुई पक्षबीचको छलफल सकारात्मक भएपछि आफूहरू बैठकमा उपस्थित हुन लागेको माओवादीकी सांसद गीता तिम्सिनाले जानकारी दिइन्।

‘बिहान मुख्यमन्त्रीसँग छलफल भयो। छलफल सकारात्मक भएपछि हामी बैठकमा उपस्थित हुन्छौं’, उनले भनिन्।  प्रधानमन्त्री ओलीले आज २ बजे बस्ने प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले यसअघि कर्णाली र सुदूरपश्चिम प्रदेशलाई सम्बोधन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर