
बालबालिकाहरू स्वभावैले चुलबुले, चकचके हुन्छन् । उनीहरू एकै ठाउँमा बसिरहन रुचाउँदैनन् । यो चञ्चले उमेरमा नयाँ नयाँ ठाउँमा घुम्न, थरीथरीका खानेकुरा खान, खेल्न, रमाइलो गर्न उनीहरुलाई औधी मन पर्छ ।
विकसित मुलुकमा जस्तो नेपालमा बालबालिकालाई नियमित रुपमा घुमाउन लैजाने चलन निकै कम छ । बिदामा पनि उनीहरुलाई घरमै राख्ने नेपाली समाजको आम चलन हो ।
पार्क, आफ्नै घरवरिपरिका मन्दिर तथा छोटो दूरीको हाइकिङमा बच्चालाई लैजान सकिन्छ । हाइकिङ जाँदा पनि घरबाटै खाजा बनाएर लैजान सकिन्छ यसले खर्च बचाउँछ । बालबालिकालाई घरबाहिर घुमाउनु लैजानु पनि क्वालिटी टाइम अन्तर्गतकै कार्य हो ।
बालबालिकालाई बाहिर घुमाउँदा उनीहरुले आफ्नो इच्छा, दृष्टिकोण, सोच, व्यवहार राम्रोसँग पहिचान गर्न सक्नेछन् । घरमा बस्दा भन्दा बाहिर घुम्दा देखिएका, भेटिएका कुराहरुको चासोले उनीहरुलाई थप सिक्ने मौका मिल्छ ।
बालबालिकालाई घरभित्र मात्रै सीमित राख्दा उनीहरुको बाहिरको वातावरणमा घुलमिल हुनै पाउँदैनन् । जसकारण उनीहरुको मस्तिष्क र स्मरण क्षमतामा पनि असर पर्छ । हुन त आजभोलि इन्टरनेटको पहुँच घरघरमा छ ।
तर इन्टरनेटमा हेरेर बाहिर दुनियाँ हेर्नु वा बुझ्नु भन्दा प्रत्यक्ष रुपमा साक्षात्कार गर्नु मानसिक र शारीरिक रुपमा फाइदाजनक हुन्छ । उनीहरुले व्यावहारिक शिक्षा, घरबाहिरको छुट्टै संसार बुझ्ने मौका पाउँछन् । ठाउँ अनुसार परिवेश, रहनसहन, खानपान, व्यवहार, सामाजिक अन्तरघुलन, बोलीवचन सिक्ने मौका पाउँछन् ।
जुन उनीहरुले जीवनभर याद गर्छन् । यसले पैसा तिरेर सिकाउन नसकेको व्यवहारिक भूमिका सिकाउँछ । जीवनमा आउने उतारचढावसँग सजिलै लड्न सक्ने क्षमता पनि विकास हुन्छ । घुमघामले उनीहरुको मनोबल बढाउन मद्दत गर्छ ।
कहिलेकाहीं उनीहरुलाई आधुनिक कुरा देखाउन सपिङ मल, सिनेमा हलमा लैजान सकिन्छ । उनीहरुका लागि घुम्न रुचि लाग्ने अर्को ठाउँ हो, बाल उद्यान । त्यहाँ खेल्न पाउँदा उनीहरु निकै रोमाञ्चित हुन्छन् ।