निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले बुधबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ ।
कार्कीले गत २० कात्तिकमा सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । त्यसपछि अदालतले तिहार बिदापछि ३० कात्तिकका लागि सुनुवाइको मिति तोकेको थियो । तर, सरकारले उक्त दिन छठ पर्वको सार्वजनिक बिदा दिएपछि सुनुवाइ हुन सकेन ।
तिहार र छठ पर्वको बिदापछि मंगलबारदेखि अदालत खुलेसँगै सर्वोच्च अदालत प्रशासनले कार्कीको रिटमाथि बुधबारका लागि प्रारम्भिक सुनुवाइको मिति निर्धारण गरेको हो । बुधबार एकल इजलासमा रिटमाथि सुनुवाइ हुनेछ ।
सरकारले गत १८ कात्तिकमा कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो ।
सरकारको उक्त निर्णय गैरकानुनी रहेको र आफू अन्यायमा परेको जिकिर गर्दै कार्कीले सर्वोच्च अदालतको ढोका ढकढक्याएका हुन् ।
उनले मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका छन् ।










