बढ्दो गर्मीले जनजीवन नै निकै प्रभावित बनाएको छ । अझ बालबालिकालाई त गर्मीले झनै असर पारिरहेको छ ।
बढ्दो गर्मीले तराईका जिल्लामा धमाधम विद्यालयहरुमा बिदा दिइरहेको अवस्था छ । बालबालिकाहरु एकै ठाँउमा राख्दा गर्मीले झनै समस्या पार्ने, संक्रमण फैलिने डर त छँदैछ, अर्कोतिर कतिपय विद्यालयका भौतिक संरचनासमेत विद्यार्थीमैत्री नहुँदा झन् ठूलो स्वास्थ्य समस्या ल्याउन सक्ने खतरा छ ।
बालबालिकाहरु शिक्षकहरुसँग सहज ढंगले आफ्ना कुरा अभिव्यक्त गर्न नसक्ने हुन्छन् । कतिपय बालबालिकालाई आफ्नो ज्यानले के मागिरहेको छ भन्ने पनि थाहा हुँदैन । थाहा पाए पनि भन्न सक्दैनन् । अझ साना बालबालिका त थाहा पाएर पनि शीतल ठाउँमा जान सक्दैनन् । अत्यधिक तापक्रम र तातो हावाले छालाको समस्या, आँखाको समस्या, खानेपानीबाट हुने समस्या निम्तिन सक्छन् । तापक्रम बढ्दा तातो हावाका कारण सुख्खापन बढ्छ ।
गर्मीमा छालाको समस्या, सन वर्न, सुख्खा हुने, लुगा कम लगाउँदा वा जता पनि जाँदा बालबालिकालाई कीरा फट्यांग्राले टोक्ने, एलर्जी हुनेजस्ता समस्या हुन सक्छन् । यसतर्फ पनि विषेश ध्यान दिनुपर्छ । स्वीमिङ गर्न लैजाँदा छालाको एलर्जी हुने, कन्जेन्टिभाइटिस हुने, कानको समस्या आउँछ । खोलामा पौडी खेल्न लैजाँदा डुबेर ज्यानसमेत जाने खतरा हुने भएकाले यसतर्फ अभिभावकहरु सचेत हुनुपर्छ । घरवरिपरी जम्मा हुने पानी लामखुट्टेको बासस्थान बन्छन्, लामुखुट्टेको टोकाईका कारण डेंगु, मलेरियाजस्ता रोग लाग्छन्।
बालबालिकालाई प्रशस्त पानी खुवाउन अभिभावकहरुले नै जोड गर्नुपर्छ । कम्तीमा दैनिक पाँच-सात पटक पिसाब गरे नगरेको ख्याल गर्ने, पिसाब कम गरेको वा गाढा पहेंलो गरेमा पानीको मात्रा नपुगेको बुझ्नुपर्छ । गर्मी मौसममा खाना चाँडै बिग्रिने भएकाले बिहानको बेलुका वा बेलुकाको खाना बिहान सकभर नखानु राम्रो हुन्छ । सबैको घरमा फ्रिज नहुन सक्छ । त्यस्तो अवस्थामा बासी नराख्ने गरी खानेकुरा बनाउँदा त्यसले बालबालिका र परिवारका अन्य सदस्यलाई पनि राम्रो गर्छ ।
सडकमा बेच्न राखिएका काटेका फलफुल र अन्य खालका खानेकुरा बालबालिकालाई नखुवाउने । यस्तो मौसममा बच्चाहरुलाई मसालेदार र तारेका खानेकुरा नखुवाउने। यस्ता खानेकुरा सजिलोसंग पच्न सक्दैनन्। उनीहरुलाई ताजा फल, हरिया तरकारी, जुसजस्ता स्वस्थकर खानेकुरा र हल्का खाना खुवाउने।
बच्चालाई तिर्खा नलागे पनि पानी पिइरहन प्रेरित गर्नुहोस्, यसले शरीर सुख्खा रहन दिँदैंन। उनीहरुलाई कागती पानी, नरिवलको पानी र अन्य प्राकृतिक तरल पदार्थ दिनुपर्छ।
बालबालिकालाई हल्का र खुला कपडा लगाउन दिनुहोस्। तन्दुरुस्तीका लागि आफूसंगै बच्चालाई पनि बिहान बेलुकी कसरत गराउनुहोस्।