काठमाडौं । अहिलेसम्म ७ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । अझै १२ वाणिज्य बैंकले लाभांश घोषणा गर्न बाँकी छन् ।
लाभांश घोषणा गरि नसकेका बैंकहरुले कति र नगद वा बोनस के लाभांश वितरण गर्ने भन्ने बिषयमा सञ्चालकहरुबीच छलफललाई तिब्रता दिएका छन् । लाभांश कति दिने भन्दा पनि नगद र बोनस कति दिने भन्ने बिषयमा लाभांश वितरण गरि नसकेका केही बैंकका सञ्चालकहरुबीच तिब्र बिबाद देखिएको छ ।
केही बैंकका सञ्चालकहरुले नगद मात्रै र केहीले बोनस मात्रै दिनु पर्ने आवाज उठाउँदै आएका छन् । केही बैंकका सञ्चालकले भने नगद र बोनस दुबै दिनु पर्ने अडानमा छन् ।
खासगरी, मर्जर र एक्विजिसनमा गएर ठूलो चुक्ता पुँजी भएका बैंकले नगदलाई नै प्राथमिकता दिएका छन् । यद्यपी ग्लोबल आइएमई, नबिल जस्ता बैंकका सञ्चालकहरुले भने नगद र बोनस शेयर दिने निर्णय गर्दै छन् । कम चुक्ता पुँजी भएका बैंकले भने बोनसलाई नै जोड दिने भएका छन् ।
मर्जर र एक्विजिसनमा गएपछि अहिले कुल २० वाणिज्य बैंक मात्रै छन् । त्यसमध्ये ७ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणमा शेयर जारी नगरेका कारण त्यसले नगद वा बोनस के दिन्छ भन्ने बिषयमा लगानीकर्तालाई चासो हुने कुरा भएन् । अरु १२ बैंक लाभांश वितरण गर्न बाँकी छन् ।
हिजो अर्थात सोमबार मात्रै स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरणको घोषणा गरेको छ । बैंकले १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
यसअघि सिद्धार्थ बैंकले पनि नगद लाभांद वितरण नै घोषणा गरेको थियो । सिद्धार्थ बैंकले ४.२१ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ ।
पाँच वाणिज्य बैंकहरु दशैंअघि नै वार्षिक साधारणसभा गरेर शेयरधनीको खातामा लाभांश पठाइसकेका छन् । एनआईसी एशिया, एभरेष्ट, माछापुच्छ्रे, सनिमा र सिटिजन्स बैंकले दशैंअघि नै लाभांश वितरण गरिसकेका छन् ।
माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गीि कूल १४ प्रतिशत लाभांश वितरण गरिसकेको छ । यद्यपी यसको बोनस शेयर भने लगानीकर्ताको खातामा आइसकेको छैन् ।
यसैगरी, सिटिजन्स बैंकले पनि दसैंअघि नै लगानीकर्तालाई नगद लाभांश दिएको छ । सिटिजन्स बैंकले चुक्ता पूँजीको ५.७९ प्रतिशत नगद लाभांश दिएको थियो ।
साथै, अहिलेसम्मकै सबैभन्दा धेरै लाभांश वितरण गर्ने घोषणा गरेको एनआईसी एशिया बैंकले दशैंअघि नै वार्षिक साधारणसभा गरिसकेको छ । एनआईसी एशिया बैंकले चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
साथै, एभरेष्ट बैंकले पनि दशैंअघि नै वार्षिक साधारणसभा गरेको छ । एभरेष्ट बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गरेको छ । उसले वितरण गरेको नगद लाभांश शेयधनीको खातामा आइसकेको छ ।
यसैगरी, सानिमा बैंकले दशैंअघि नै वार्षिक साधारणसभा गरेको छ । सानिमा बैंकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सानिमा बैंकले वितरण गरेको नगद लाभांश पनि शेयरधनीको खातामा दशैंअघि नै आइसकेको छ ।
लगानीकर्ताहरुले लाभांश घोषणा गर्न बाँकी १२ बैंकले कहिले लाभांश वितरण गर्लान भनेर प्रतिक्षा गरिरहेका छन् । ७ वाणिज्य बैंकले लाभांश वितरण गरिसकेकाले पनि अन्य घोषणा गर्न बाँकी १२ वाणिज्य बैंकले तिहार अगाडि नै लाभांश वितरण गर्ने अपेक्षा लगानीकर्ताहरुले गरेका छन् ।
चालु आर्थिक वर्ष सकिएको साढे दुई महिना भइसकेकाले पनि तिहार अघि नै लाभांश घाेषणा गर्ने अपेक्षा गरिएको एक लगानीकर्ताले बताए । ‘१२ वाणिज्य बैंकले दशैंका लागि ‘दक्षिणा’ दिएनन् नै अब तिहारका लागि ‘लक्ष्मी’ देलान नि,’ उनले भने, ‘अधिकाशं लगानीकर्ता तिहार खर्चका लागि बैंकहरुले लाभांश दिने अपेक्षामा छन् ।’