विश्वप्रसिद्ध सञ्चार संस्था सीएनएनले नेपाली पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वर्ष २०२४ को सफल खेलाडीको सूचीमा राखेको छ ।
सन् २०२४ मा विश्वभरीमा उल्लेखनीय सफलता हासिल गरेका खेलाडीहरूलाई समेटिएको सूचीमा पूर्णिमा पनि परेकी हुन् । सीएनएनले पूर्णिामले दुई हप्तामा तीनपटक सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान बनाउँदै इतिहास रचेको उल्लेख गरेको छ । सीएनएनले यो उपलब्धि केवल १३ दिनमा हासिल गरेको भन्दै फोटो पत्रकार समेत रहेकी श्रेष्ठलाई सूचीमा राखेको छ ।
पूर्णिमाले सन् २०२१ मा सातौं अग्लो हिमाल, माउन्ट धौलागिरी, आरोहण गर्ने पहिलो नेपाली महिला बन्ने कीर्तिमान पनि राखेकी छिन्।
आरोही श्रेष्ठले सन् २०२४ उनको जीवनकै एउटा ऐतिहासिक वर्ष बनेको उल्लखे गरेकी छिन् । ‘यसै वर्ष म एउटै आरोहण सीजनमा तीन पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने संसारकै पहिलो र एकमात्र महिला बन्न सफल भएँ, उनले भनेकी छिन्– ‘यस यात्रामा मलाई साथ र हौसला दिने मेरो परिवार, साथीहरू र सबै तपाईंहरूलाई धन्यवाद । आउँदो वर्ष सन् २०२५ अझ नयाँ उचाइहरू र साहसिक यात्राहरूको वर्ष बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’