काठमाडौं– हिन्दु नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ। तिहार (यमपञ्चक)को पहिलो दिन आज (शनिबार) काग तिहार मनाइँदैछ।
तिहार तथा दशैंका बेला जुवा–तास खेल्ने प्रचलन आम जस्तै छ। धेरैले जुवा–तासलाई मनोरञ्जनका रुपमा लिएर खेल्ने गर्छन्। तर जुवा–तास खेल्नु कानुन विपरीतको गतिविधि हो।
प्रहरीले तिहारका बेला हुने जुवा–तास नियन्त्रणका लागि देशव्यापी रुपमा नै विशेष अभियान चलाएको छ। नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुवेर कडायतका अनुसार चाडपर्वलाई विकृत बनाउने जुवा–तास नियन्त्रणका लागि सबै जिल्लामा विशेष अभियान चलाइएको छ।
मुलुकी अपराध संहिता, २०७४ ले जुवा–तासलाई गैरकानुनी गतिविधि मानेको छ। अपराध संहिताको दफा १२५ मा जुवा–तास खेल्नेलाई कारबाहीको व्यवस्था गरिएको छ।
पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ। यस्तै, दोस्रोपटक पनि जुवा खेलेको पाइए त्यस्ता व्यक्तिलाई १ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेकपटक थप ३ महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था अपराध संहितामा छ।
जुवा तास खेल्दै गर्दा प्रहरीले पक्राउ गरेमा जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त भएको सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने समेत कानुनी व्यवस्था छ।