
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोध गर्दै मुक्कुम्लुङ संरक्षण र केबलकार खारेजी संयुक्त संघर्ष समितिका कार्यकर्ताहरूले आह्वान गरेको ९ जिल्ला बन्दको आंशिक प्रभाव परेको छ ।
आइतबार बिहान ५ः३० बजे झापाको बुद्धशान्ति –४ बर्नेस्थित मेची राजमार्गमा मुक्कुम्लुङ संरक्षण र केबलकार खारेजी संयुक्त संघर्ष समितिका कार्यकर्ताहरूले २ वटा रुख ढालेर मेची राजमार्ग अवरुद्ध पारेका थिए ।
त्यसलाई पन्छाएर यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।
त्यस्तै दमक –६ स्थित आकाशे पुलमा भेला भइ बन्द गराउन खोज्दा प्रहरीले ३ जना बन्दकर्तालाई पक्राउ गरेको छ ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकमा लगिएको छ । पक्राउ पर्नेमा पदम बेघालगायत रहेका छन् । सवारी साधनको चाबी थुत्न खोज्दा उनीहरूलाई पक्राउ गरिएको डीएसपी चन्दले बताए । पूर्वपश्चिम राजमार्गमा आंशिक रुपमा सवारी साधन चलेका छन् ।
पूर्वी पहाडी जिल्लामा भने यातायात चलेको छैन । बन्दकर्ताहरूले गत माघ १५ गतेदेखि मेची राजमार्गमा यातायात बन्द यथावत राखेका छन् । जसका कारण जनजीवन प्रभावित भएको छ ।