
प्रदर्शनरत फिल्म ‘एक्टर : टेक वन’बाट घरेलु फिल्ममा डेब्यु गरेकी दिब्या रायमाझीले आगामी फिल्म ‘मायाप्रीति’ साइन गरेकी छन् । शीर्ष भूमिकामा उनलाई साइन गराइएको निर्माताले जनाएका छन् ।
छायांकन तयारीमा रहेको फिल्मको कार्यकारी निर्माता सन्तोषकुमार कार्की र क्रिएटिभ निर्देशकमा प्रणव जोशीसँग दिब्याले लिखित सम्झौता गरिन् । कार्यकारी निर्मातामा अभिनेत्री निशा अधिकारी पनि छिन् ।
रोमान्टिक कमेडी फिल्मलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । निर्माताले फिल्मको लगलाइनमा भनेका छन्, ‘मायाप्रीति’ नयाँ पुस्ताको प्रेमकथा हो, जसले प्रेमको मूल्य र महत्वलाई सहज वा असहज परिस्थितिमा पनि एकसमान राख्नेछ ।’
फिल्म साइन गरेपछि अभिनेत्री रायमाझीले आफू नेपाली फिल्म क्षेत्रको संस्कारमा हुर्किएकीले राम्रो पटकथा छनोट गर्न सजिलो भएको बताइन् । कथावस्तु आफूले खोजेको जस्तै रहेको उनको भनाई छ । रोलबारे भने उनले खुलाइनन् ।दिब्याले डेब्यु फिल्ममा उत्कृष्ट अभिनय गरेकाले उनलाई ‘मायाप्रीति’को लागि प्रस्ताव गरिएको कार्यकारी निर्माता कार्कीले बताए ।
रायमाझीको लागि भूमिका उपयुक्त रहेको र स्क्रिप्टले उनलाई न्याय गर्ने दावी उनले गरे । वनटूथ्री स्टुडियोज प्रालिको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । बाँकी कलाकार घोषणा गरिने भएको छ ।