सर्वसाधारणका लागि मंसिर ८ गतेदेखि मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुल्ने भएको छ ।

बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै आईपीओ निस्कासन खुला हुने जनाएको हो ।
कम्पनीको आईपीओमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निस्कासन गर्न लागेहो हो ।

कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी हुन लागेको हो ।
अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओमा सर्वसाधारणले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरमा जोखिम रहेको संकेत गर्दछ ।

कृषक तथा कृषि व्यवसायीहरुको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक उत्पादनका साधनहरु मल, बिउ, विषादी, औजार उपकरणसहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको क्षेत्रमा कम्पनीले काम गरिरहेको छ ।

कृषि सम्बन्धी उपकरण आयात तथा बिक्री वितरण गर्ने, कृषि तथा पशुपन्छीको बीमाका लागि एजेन्टको रुपमा काम गर्ने, कृषि सम्बन्धी मल, बिउ, विषादी तथा उपकरणको अनलाइन कारोबार गर्ने उद्देश्यले कम्पनी सञ्चालनमा छ ।

आर्थिक वर्ष २०७६/७७ र आब २०७७/७८ मा नाफा कमाएको कम्पनी आर्थिक वर्ष २०७८/७९ मा भने १० करोड नोक्सानीमा गएको थियो ।

अपरिस्कृत विवरणअनुसार गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीले १ करोड ७२ लाख नाफा कमाएको छ ।

गत आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ ३२ पैसा रहेको छ । कम्पनीको जगेडा कोष करिब ५ करोड ऋणात्मक छ ।

मुक्तिनाथ विकास बैंकको समेत लगानीमा स्थापना भएको यो कम्पनीको सञ्चालक समिति अध्यक्षमा मुक्तिनाथ विकास बैंककै अध्यक्ष भरतराज ढकाल छन् ।

त्यस्तै अन्य सञ्चालकहरुमा सिताराम काफ्ले, तुलसीराम ढकाल, शिखा मास्के, मोहनकुमार बस्नेत, गोविन्दबहादुर राउत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर