
ललितपुर पाटन अस्पतालबाट फरार भएका बलात्कार मुद्दाका थुनुवा कञ्चनपुरमा फेला परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पहिचान गरेर फरार थुनुवाबारे कञ्चनपुर प्रहरीलाई जानकारी गराएको थियो ।
लगत्तै आज कञ्चनपुरको टोलीले ती थुनुवा पक्राउ गरेको हो । प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका थुनुवा अछाम घर भएका दीपक साउद फरार भएका थिए ।
थुनुवा साउद बिरामी भएपछि उपचारका लागि भन्दै पाटन अस्पताल लगिएको थियो । सो क्रममा शौचालय जाने भनेर छिरेका उनी दिउँसो ११ बजेतिर फरार भएका हुन् ।
उनी झ्यालबाट हाम्फालेर भागेका थिए । १९ वर्षका साउद १७ वर्षकी किशोरीसँग लिभिङ टुगेदरमा बस्दै आएका थिए ।
ती किशोरीले केही समयअघि बच्चा समेत जन्माएकी थिइन् । विवाह गर्ने उमेर समेत नहुँदा आफूखुसी विवाह गरेर बच्चा समेत जन्माएको अवस्था रहेको प्रहरीको भनाइ छ ।
आफूलाई बेवास्ता गर्न थालेपछि १७ वर्षीया किशोरी बच्चाकी आमाले उनीविरुद्ध बलात्कार जाहेरी दिएकी थिइन् ।