सिन्धुलीमा ईभी गाडी र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका नायव उपरीक्षक (डीएसपी) अनिलकुमार खड्काका अनुसार सिन्धुलीको तीनपाटन गाउँपालिका-१० औलडाँडाका २६ वर्षीय प्रेम रानामगरको मृत्य भएको हो । उनी मोटरसाइकल चालक हुन् ।
उनको नगरअस्पताल सिर्थौलीमा उपचारका क्रममा मृत्यु भएको हो । आज बिहान करिब साढे ८ बजे दुधौली नगरपालिका-४ स्थित मदनभण्डारी राजमार्गअन्तर्गत सडकमा डकाहाबाट दुधौली जाँदै गरेको प्र २-०१-००१ प ७०११ नम्बरको मोटरसाइकल र उदयपुर गाईघाटबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३-०१ ज ४४५ को ईभी गाडी ठोक्किएका थिए ।
दुर्घटनामा घाइते भएका ९ जना ईभी गाडीमा सवार व्यक्ति हुन् । ईभीका चालक उदयपुर त्रियुगा नगरपालिका-६ का ३८ वर्षीय वीरेन्द्रकुमार बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।










