संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंको बल्खुमा सभा प्रदर्शन गरेको छ ।
प्रदर्शनपछि सभा आयोजना हुने छ । सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट निकालिएको जुलुस बल्खु पुग्नेक्रम जारी छ ।
जुलुसमा सहभागीहरुले पृथ्वीनारायण शाहको फोटो बोकेका छन् । उनीहरुले नेपालको राष्ट्रिय झण्डा र पार्टीको झण्डा पनि बोेकेका छन् ।राप्रपाले आजको सभा भव्य, सभ्य र अनुशासित हुने जनाएको छ । राप्रपाले जुलुस र सभालाई व्यवस्थित गर्न दर्जनौंको संख्यामा स्वयंसेवकहरु परिचालन गरेको छ ।
उनीहरुले सभालाई व्यवस्थित बनाउन र घुसपैठ रोक्न भूमिका खेल्ने छन् । घुसपैठको शंका लागेमा तुरुन्तै नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाउन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले निर्देशन दिएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए । तर चैत १५ गते तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन हिंसात्मक भएकाले बाक्लो संख्यामा सुरक्षाकर्मीहरुको परिचालन गरिएको छ ।
त्रिभुवन विश्वविद्यायको परीक्षा नियन्त्रण कार्यालय, सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय र कलंकीको भाटभटेनी सुपरमार्केटमा समेत सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । बल्खुको सभास्थलमा एम्बुलेन्स, नेपाल रेडक्रस सोसाइटी, मानव अधिकारकर्मी लगायतको टोली पनि परिचालन गरिएको छ । राप्रपाको यो बागमती प्रदेशस्तरीय सभा हो । त्यसैले बागमती प्रदेशका जिल्लाबाट कार्यकर्ताहरुलाई काठमाडौंमा भेला गरेर सभा गरिँदै छ ।










