
काठमाडौंमा बुधबार दिउँसो हल्का वर्षा भएको छ। पश्चिमी न्यूनचापीय प्रणालीका अतिरिक्त बंगालको खाडीबाट जलवाष्पयुक्त वायु भित्रँदा देशभरको मौसममा बदली देखा परेको थियो।
मंगलबारबाट भित्रिएको यो प्रणालीले कोशीदेखि लुम्बिनीसम्म वर्षा गराए पनि काठमाडौंमा पानी परेको थिएन।
बुधबार दिउँसो काठमाडौंमा हल्का वर्षा भइरहेको मौसमविद् डेबिड ढकालले जानकारी दिए। उनका अनुसार अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको स्टेसनमा वर्षा मापन भएको छ।
अहिले कोशीको पहाडी भेगमा वर्षा भइरहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा पनि पानी परिरहेको छ। लामो समयपछि परेको पानीले प्रदूषणबाट केही राहत दिएको छ।
काठमाडौं उपत्यकाबाहिर केही स्थानमा उल्लेख्य वर्षात भएकाले वायु मण्डलमा फैलिएको धुवाँ, धुलो पखालिएको छ। काठमाडौं उपत्यकामा भने उल्लेख्य वर्षा प्रक्षेपण गरिएको छैन।
बुधबारको तुलनामा बिहीबार उल्लेख्य वर्षा हुने अनुमान गरिएको छ।