प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी माओवादी केन्द्र र आफू नेतृत्वको सरकार पर्यावरणका मुद्दाप्रति निकै गम्भीर र संवेदनशील रहेको बताएका छन्।
शनिबार विशाल खड्काको ‘पर्यावरणीय संकटः आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै उनले थपे, ‘हामी हाम्रो भावी पुस्ताप्रति पनि त्यति नै संवेदनशील छौँ, जति एउटी आमा आफ्नो बच्चाप्रति हुन्छिन्।’
प्रधानमन्त्री प्रचण्डले कोप–२८ मा नेपालले राख्नुपर्ने सरोकारका बारेमा आफूहरू निरन्तर अन्तरसंवादमै रहेको बताए।
विश्वको साझा समस्याका रुपमा रहेको कार्बन उत्सर्जनले अविकसित तथा अल्पविकासशील मुलुकहरुलाई नै सबैभन्दा धेरै जोखिममा पुर्याइदिएको प्रधानमन्त्रीको भनाइ छ।
‘नेपालजस्ता मुलुकहरुमा प्रतिवर्ष ०.३ देखि १ प्रतिशतका दरले हिमालहरु पग्लिरहेको हिमालयाजः क्लाइमेट चेन्ज, ब्लयाक कार्बन एण्ड रिजनल रेजिलियन्स’ प्रतिवेदनले उल्लेख गरेको छ’, उनले थपे।
सबैभन्दा धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने विकसित मुलुकहरुले अविकसित र अल्पविकासशील मुलुकमा पुगेको अपुरणीय पर्यावरणीय क्षतिलाई रोक्नका लागि क्लाइमेट फाइनान्स कोषको स्थापना गरी सन् २०२० सम्म १०० विलियन डलर उपलब्ध गराउने बाचा गरे पनि उक्त रकम उनीहरुले जम्मा नगरेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले देखाउँछ’, उनले भने।