स–साना माटाका आकर्षक मूर्तिहरू बनाई मनाइने सामा चकेवा पर्वमा मैथिली नारीहरूले मनाइरहेका छन् ।
कार्तिक शुक्ल पञ्चमी अर्थात छठको खरनाबाट सुरु भई १० दिनसम्म यो पर्व मिथिलाञ्चलकी चेलीबेटीहरूले मनाउने गर्छन् । कार्तिक शुक्ल पूर्णिमा सम्म विभिन्न सुरिला गीतहरू गाएर सखी सहेलीहरू सँगै सामा चकेवा पर्व मनाइरहेका छन् ।
सामा चकेवा पर्वलाई भाइ बहिनी बिचको अगाध प्रेमको प्रतीकको रूपमा लिन सकिन्छ । यो पर्वको वास्तविक नाम श्यामाचकेवा रहेपनि लोकभाषामा यसलाई सामाचकेवा भन्ने गरिन्छ । सामा स्त्री पात्र हुन् भने चकेवा पुरुष पात्र हुन् । दुईटैलाई चराको आकृतिको रूपमा माटोले बनाइएको हुन्छ । सामा चकेवा खेलमा श्रीमान् श्रीमतीको बारेमा चुगली लगाउने चारुवक्र पात्र अर्थात चुगलाको जुगांलाई डढाउने गरिन्छ । बहिनी मिलेर आगो लगाई डढाउँदै बडो घृणाले गीत गाउँछन् ।
पूर्णिमाका दिन बहिनीहरू आफ्ना भाइ तथा दाइलाई निमन्त्रण दिन्छन् । भाईले घुडामा राखेर सबै मूर्ति तोड्छन् र ती मूर्तिहरूलाई जोतेको खेतमा विसर्जन गरिन्छ । बहिनीले भाइलाई चिउरा, दही, मिष्ठान, सख्खरको भोजन गराउँछन यसलाई मैथिलीमा ‘फाँरभरी’ भन्ने गरिन्छ ।
सामा चकेवाका मूर्ति माटोले बनाउने भएकोले यसले मैथिल महिलाहरूको मूर्तिकला प्रतिको कौशलको समेत प्रदर्शन गर्छ । सामाचकेवामा मिथिलानीहरु समूह बनाएर नजिकैको नदी तलाउबाट माटो ल्याउने गर्छन् ।










