नेपालमा भोकमरीको अवस्थामा पछिल्लो समय सुधार आएको छ । विश्व भोकमरी सूचकाङ्क २०२५ को वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार नेपालमा भोकमरीको अवस्था सुधारोन्मुख देखिएको हो।विश्वका १२३ वटा देशमा भोकमरीको अवस्थाबारे अध्ययन गरी तयार पारिएको सूचकाङ्कमा नेपाल ७२ औँ स्थानमा छ ।

बालबालिकाको कुपोषण, लालनपालन, बाल मृत्युदरजस्ता विषयको मूल्याङ्कन गर्दै सूचकाङ्क तयार पारिएको हो । सूचकाङ्कले नेपालमा कूल जनसङ्ख्याको ५ दशमलव ३ प्रतिशत जनसङ्ख्या कुपोषित रहेको देखाएको छ। यस्तै, पाँच वर्षमुनिका २६ प्रतिशत बालबालिका कमजोर र दुब्लापातला रहेको पाइएको छ।

यस्तै, पाँच वर्षमुनिका ७ प्रतिशत बालबालिकाको हुर्काइबढाईमा समस्या छ। यस्तै, २ दशमलव ६ प्रतिशत बालबालिकाको जन्मिएको पाँच वर्षभित्र नै मृत्यु हुने गरेको देखिएको छ। सूचकाङ्कले यी देशमा भोकमरीको शून्यदेखि चरम अवस्था जनाउनका लागि सूचकाङ्कले चार वटा अवस्था चित्रण गरेको छ ।

यसमा ९ अकंसम्म रहने मुलुकमा भोकमरी नरहेको, १० देखि १९ सम्म मध्यम, २० देखि ३४ सम्म गम्भीर, ३५ देखि ४९ सम्म चिन्ताजनक र ५० अंकभन्दा माथि भोकमरीको भयानक स्थिति मानिएको छ। नेपालको भोकमरी सूचकाङ्क १४ दशमलव ८ छ। यो भोकमरीको मध्यम अवस्था हो ।

सन् २००० मा नेपाल यो सूचकाङ्क ३७ रहेको थियो । त्यस्तै, २००८ मा २८ दशमलव ५ प्रतिशत, २०१६ मा २०.६ प्रतिशत थियो भने अहिले सुधार भएर सो स्थानमा आइपुगेको हो । यस्तै विश्वमा सबैभन्दा भोकमरीको चरम अवस्था सोमालियामा देखिएको छ। यहाँ भोकमरीको सूचक ४२ दशमलव ६ छ ।

सबैभन्दा कम भोकमरी रहेको वा भोकमरीको अवस्था नरहेको देश २५ वटा रहेका छन् । यो सूचीमा दक्षिण एसियाली मुलुक भारत २५ दशमलव ८ अङ्कसहित १०२ औँ स्थानमा छ । पाकिस्तान २६ दशमलव १ अङ्क सहित १०६ औँ स्थानमा छ।

श्रीलङ्का ११ दशमलव २ अङ्कसहित ६१ औँ स्थानमा र बङ्गलादेश १९ दशमलव २ सहित ८५ औँ स्थानमा रहेका छन् । यो हिसाबले नेपाल दक्षिण एसियामै दोस्रो कम भोकमरी भएको मुलुकको रूपमा रहेको छ । भुटान, माल्दिभ्स र अफगानिस्तान मूल्यांकनमा समावेश छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर