जाडोमा विशेषगरी दीर्घ रोग हुनेहरूले ध्यान दिनुपर्छ। त्यसमा पनि बाथ, स्वासप्रश्वास सम्बन्धी दम र मुटुका रोगीहरूले अझै बढी ध्यान दिनुपर्छ।

जब जाडोयाम सुरू हुन्छ, स्वासप्रश्वासका लागि प्रयोग हुने नलीहरू खुम्चिने गर्छ। नलीहरू खुम्चिसकेपछि मुरलीको जस्तै आवाज आउँछ। त्यो आवाज आउनु भनेको दम बल्झिनु हो। दमका औषधि खाइरहने बिरामीले आफूलाई केही नभएको भन्दै औषधि खान छोड्छ।

यस्तो अवस्थामा बिरामीलाई दमले अझै च्याप्ने गर्छ। जाडोको कारणले रक्तनली साँघुरो भएर जान्छ जसले गर्दा रक्तचाप बढ्छ। यसले पक्षघात हुन सक्ने खतरा रहन्छ। मुटुसम्बन्धी समस्या हुनेहरूलाई हृदयघात पनि हुनसक्ने खतरा रहन्छ।

बाथसम्बन्धी व्यथाले मासु र हड्डी जुन तन्किने हो त्यो तन्किन पाउँदैन। जसले गर्दा बिरामीलाई समस्या पर्छ। सामान्य अवस्थामा रहेको व्यक्तिलाई सताउने भनेको भाइरलको संक्रमणले हो। रूघाखोकी, घाँटी खसखस, एलर्जी जस्ता समस्या जाडो मौसममै हुन्छ।

जाडोमा बढी रूघाखोकी लाग्नुको प्रमुख कारण भनेको गर्मी समयमा चलिरहेको जीवनशैलीमा एक्कासि परिवर्तन भएर हो। गर्मीबाट जाडोमा आउँदा एलर्जी हुन्छ। जाडोयाममा विशेष किसिमको भाइरसको चहलपहल पनि हुन्छ जुन हाम्रो शरीरमा सजिलै छिर्न सक्छ।

सजिलै छिर्ने भएको कारणले नै यो भाइरलको संक्रमण हुने हो। रूघाखोकी भन्नसाथ डराइहाल्नु पनि पर्दैन भने हेलचेक्रयाँइ पनि गर्नु हुँदैन। रूघाखोकीले गर्दा ज्यान जान सक्ने अवस्था पनि आउँछ। तर हामीले बुझ्न पर्ने के हो भने, रुघाको सुरूआती अवस्थामा तातो पानी, झोलिलो कुराहरू बढी खाने र आराम गरेर बस्ने गर्नुपर्छ।

भाइरसको उपचार भनेकै आराम गर्ने हो। सामान्यतया भाइरस ७ दिनदेखि १४ दिनसम्म हुन्छ। ७ देखि १४ दिनसम्म आलस्य हुने ज्वरो आउने, जिउ कटकटी दुख्ने, रूघाखोकी लाग्ने हुनसक्छ। त्यति समयसम्म झोलिलो खानेकुरा खाने र आराम गरेर बस्नुपर्छ।

तर त्यही बेलामा स्वासप्रश्वाससम्बन्धी व्यथा सुरू भयो भने भाइरसको कारणले जिउ दुख्छ। अझै बढेर गयो र केही खान सकिएन भने तुरून्त नजिकको अस्पतालमा वा चिकित्सककहाँ गएर सल्लाह लिनु बुद्धिमानी हुन्छ। जथाभावी औषधि खानु हुँदैन।

अहिले छ्यापछ्याप्ती औषधि पसलहरू छन् जहाँ सजिलै सामान्य रोगको औषधि किन्न पाइन्छ। यो एकदमै दुर्भाग्यपूर्ण पाटो हो। हुन त सामान्य मानिसलाई जहाँ पायो त्यहीँ औषधि किन्न सजिलो लाग्छ। बेच्ने मान्छेलाई पनि सजिलो लाग्छ होला। तर त्यसको खराब पाटोको बारेमा हामी कमैलाई थाहा छ।

एन्टिबायोटिक जहाँबाट पनि बेचिरहेको देखिन्छ। हामीले बुझ्नपर्ने कुरा के हो भने एन्टिबायोटिक मात्रै उपचार होइन। भाइरलको संक्रमणमा एन्टिबायोटिकको केही पनि भूमिका हुँदैन। एन्टिबायोटिक खानै पर्दैन। भाइरलको संक्रमणमा गर्ने भनेको आराम हो।

शरीर धेरै दुख्यो भने पारासिटामोल खाने हो। हामीले आफूखुसी औषधि खान पर्‍यो भने पारासिटामोल मात्रै हो। त्यो पनि बढीमा दिनमा ३ चक्की खाने हो। त्योभन्दा माथिको कुनै पनि औषधि चिकित्सकको सल्लाहबिना खानु हुँदैन।

औषधिको पनि आफ्नै असरहरू हुन्छ। यसले गर्दा कतिलाई एलर्जी हुन्छ भने कतिको ज्यानै जानसक्छ। जथाभावी एन्टिबायोटिक प्रयोग गर्यो भने त्यही एन्टिबायोटिकले पछि काम नगर्ने पनि हुन सक्छ। जाडोमा विशेषत खान पर्ने भनेको झोलिलो खाना हो।

शरीरमा नुन पोटासको मात्राहरू कमी भइरहेको हुन्छ त्यसलाई सन्तुलन गर्न झोलिलो कुराहरू, सुप र पानी खानुपर्छ। चिसो पानी भन्दा पनि मनतातो पानी खानु शरीरका लागि फाइदाजनक हुन्छ। सामान्य खाने कुराहरूमा जे पनि खान सकिन्छ।

कुनै विशेष किसिमको व्यथा छ भने खानेकुरामा पनि ध्यान दिनुपर्छ। जस्तै: बाथको बिरामीले प्रोटिन भएको खाना थोरै खानुपर्छ। कतिपय बिरामीले सागसब्जी खानु हुँदैन। बिरामी भएकाहरूले के खाने, के नखाने भन्ने कुरा चिकित्सकले दिने सल्लाहमा भर पर्छ।

सुगर रोग भएका बिरामीले गुलियो कम खानुपर्छ। खानै हुन्न भन्ने होइन । थोरै मात्रामा सबै खान मिल्छ तर खानै नहुने भनेको चुरोट र सुर्तीजन्य पदार्थ हो । समाज आधुनिक भएसँगै हामी अर्काको धेरै देखासिकी गर्छौं। बिहान हिँड्नु एउटा फेसन जस्तै भएको छ।

दीर्घ रोग (दम, मुटु, उच्च रक्तचापको औषधि लिनेहरू) लागेको मानिस छ भने सबेरै बिहान र राति हिँड्नु हुँदैन। बिहान र रातिको तापक्रम घटेको हुन्छ। त्यस्तो बेला स्वासनली र रक्तनलीहरू पनि खुम्चिने हुन्छ। स्वासनली खुम्चिएपछि स्वासप्रश्वासमा समस्या हुन्छ।

यस्तो बेलामा मस्तिष्कमा अक्सिजन पुग्दैन जसले गर्दा मान्छे बेहोस हुन्छ। यस्ता बिरामीहरूले हिँडडुल गर्दा ध्यान दिनुपर्छ। जाडोयाममा बढी एलर्जी हुन्छ। त्यसैले धूलो, धूँवामा हिँड्दा मात्रै होइन अरूबेला पनि मास्क लगाउनुपर्छ। सल, गलबन्दी र स्कार्फ लगायतका न्यानो कपडा लगाउनुपर्छ।

खानपिनमा ध्यान दिनुपर्छ। चिसो भन्दा पनि तातो र मनतातो पानी बढी खानुपर्छ। जाडोमा बिहानीको घाममा बस्नु एकदमै राम्रो हुन्छ। बिहानको घाममा भिटामिन डी पनि प्राप्त हुन्। यसले दमका दीर्घ रोगीलाई सहयोग गर्छ। सँगै हड्डीको लागि पनि सहयोग पुग्छ। तर दिउँसोको घाममा बस्दा भने ख्याल गर्नुपर्छ। घाममा बस्नु छ भने सनस्क्रिन क्रिमहरू लगाएर बस्नु बुद्धिमानी हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर