छिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण देखिएपछि नेपालमा पनि संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सतर्कता अपनाएको छ । भारतको पश्चिम बंगालमा केही साताअघि निपाह भाइरसको संक्रमण पुष्टि भएपछि नेपालका सम्पूर्ण हवाई तथा थल नाकाबाट भित्रिने यात्रुको निगरानी सुरु गरिएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हवाई तथा थल नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत संक्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी राख्ने कार्य भइरहेको बताए । प्रवक्ता बुढाथोकीले निपाह भाइरसको जोखिम नेपालमा उच्च रहेको उल्लेख गर्दै संक्रमणको शंका भएका व्यक्ति नेपाल प्रवेश गरेमा उपचारका लागि अस्पतालहरू समेत तोकिएको जानकारी दिए ।

निपाह भाइरस चमेरो, सुँगुर वा संक्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यानमा राखेर रोकथामका उपाय अपनाइएको उनको भनाइ छ ।

उनले भने, ‘केही साता पहिले छिमेकी मुलुक भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण देखापरिसकेपछि हामीले हाम्रान सम्पूर्ण हवाई एवं थल नाकामार्फत नेपाल भित्रिने व्यक्तिहरुलाई पनि निगरानी गर्न सुरु गरेका छौँ । त्यसैगरी हामीसँग थल र हवाई नाकामा रहेका हेल्थ डेस्कहरुले संक्रमणको लक्षण भएका बिरामीहरुलाई निगरानीमा राख्ने काम गर्नुभएको छ । त्यस्ता व्यक्तिहरु नेपालभित्र आए भने उनीहरुको उपचार गर्नको लागि हामीले अस्पतालहरु समेत तोकेका छौँ ।’
उनले थप भने, ‘यो संक्रमण सार्ने माध्यम भनेको चमेरो र सुंगुर हो । संक्रमित व्यक्ति पनि हो । त्यसकारण यी तीन चिजहरुलाई मध्यनजगर गरेर आम नेपाली नागरिकलाई पनि निपा भाइरस संक्रमण फैलिएको ठाउँबाट आउने मानिसहरुलाई केही समय क्वारेन्टाइनमा रहने र उहाँहरुको सम्पर्कमा नजाने भनेर सचेतना फैलाइरहेका छौँ ।’
निपाह संक्रमण फैलिएको क्षेत्रबाट आउने व्यक्तिलाई केही समय क्वारेन्टाइनमा बस्न र उनीहरूसँग प्रत्यक्ष सम्पर्कमा नजान मन्त्रालयले सबैमा अपिल समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर