म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा र अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बुधबार हिमपात भएको छ ।

हिमपातका कारण जनजीवन प्रभावित भएको छ । धवलागिरी गाउँपालिका–१ गुर्जाका वडा सदस्य गुनराम छन्त्यालले बिहानैदेखि निरन्तर हिमपात भइरहेको जानकारी दिए। राती पानी परेको र करिब दुई इञ्ज बाक्लो हिउँ जमेको उनले बताए।

समुन्द्री सतहदेखि दुई हजार सात सय मिटर उचाइमा रहेको गुर्जा जोड्ने पदमार्ग र सडक हिउँपरेपछि अवरुद्ध भएको छ । सर्वसाधारणहरू घरभित्रै आगो तापेर बसेका छन् । गाईबस्तु, भेडा बाख्रालाई गोठमै राखेर सुख्खा घाँस खुवाएर राखेका छन् ।

पर्यटकीय स्थल घोडेपानी, पुनहिल, खोप्रा र मोहरेडाडा पनि हिउँले छोपिएको छ । घोडेपानीका होटल व्यवसायी मिना पुनले हिमपात सुरुभएपछि चहलपहल घटेको बताए । घोडेपानी र पुनहिल घुम्न आउने पर्यटक घटेपछि सुनसान भएको छ ।

यो वर्षको दोस्रो हिमपात भएको हो । म्याग्दी जिल्लाभर वर्षा भएको छ । वर्षाका कारण हिउँदेबालीमा फाइदा पुगेको छ । हिउँ र आकाशे पानीले सिचाइको काम गरेको मालिका गाउँपालिका ७ का कृषक भुपेन्द्र शर्माले बताए।

सुख्खा भएको जमिन भिजेर बिरुवाले आवश्यक तत्त्व पाउने र खेतीबाली सप्रिने उनले बताए। गहुँ, जौ, केराउ, सुन्तलाजात फलफूलका लागि वर्षाले सहयोग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर