कर्णालीमा हिमपात र वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । विशेषगरी हिमाली जिल्लाहरुमा हिमपातसँगै वर्षा भइरहेको छ भने पहाडी जिल्लाहरुमा वर्षाका कारण चिसो बढेको छ । हिमपातले हिमाली जिल्लाका डाँडाकाँडाहरु ढपक्कै भएका छन् । कर्णालीमा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

हिमाली जिल्लाहरु जुम्ला, हुम्ला, मुगु र डोल्पामा हिमपातका कारण हवाई यातायात सेवा बन्द हुनुका साथै विद्युत् सेवा समेत अवरुद्ध भएका छन् । डोल्पाका पूर्णकुमार सार्कीका अनुसार त्यहाँ सञ्चार सेवा समेत प्रभावित भएको छ । ‘हिमपात र वर्षाले विद्युत् अवरुद्ध भयो, विद्युत् आपूर्ति नै नभएपछि सञ्चार सेवा समेत प्रभावित भएको हो,’ उनले भने ।

अत्यधिक चिसोले मानिसहरू घरभित्रै बस्न बाध्य भएका छन् भने पशुचौपायालाई गोठबाट बाहिर निकाल्न सकिएको छैन ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेताहरु गाउँ-गाउँमा चुनाव प्रचारप्रसारमा व्यस्त छन् । हिमपातका कारण चुनावी अभियान समेत प्रभावित भएको नेताहरु बताउँछन् । कर्णालीका पूर्व मुख्यमन्त्री तथा कांग्रेस नेता जीवनबहादुर शाहीले हिमपातका कारण चुनाव प्रचारप्रसार कष्टकर भएको भन्दै भिडिओ सामाजिक सञ्जालमा राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर