तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर काठमाडौँको माईतीघर मण्डलामा आइतबार प्रदर्शन भएको छ। घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी पहिचान गर्न तथा पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गर्दै अभियन्ता र सर्वसाधारण प्रदर्शनमा सहभागी भएका हुन्।

प्रदर्शनमा सहभागीहरूले बालबालिकामाथि हुने यौन हिंसा तथा हत्या नियन्त्रणका लागि राज्यले प्रभावकारी कानुनी तथा संस्थागत व्यवस्था गर्नुपर्ने माग राखेका थिए। उनीहरूले जघन्य अपराधमा संलग्न व्यक्तिमाथि कठोरतम कानुनी कारबाही हुनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए।

प्रदर्शन स्थलमा ‘बलात्कारीलाई फाँसी दे’, ‘जस्टिस फर गरिमा चौधरी’, ‘न्याय देऊ सरकार’ लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो। सहभागीहरूले गरिमा प्रकरणमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याई कडा सजाय दिनुपर्ने माग दोहोर्‍याएका थिए।

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की गरिमा गत साउन ३१ गते घरबाट सम्पर्कविहीन भएकी थिइन्। परिवार तथा स्थानी स्तरबाट खोजी गर्ने क्रममा भदौ २ गते उनलाई नजिकैको एक घरभित्र मृत अवस्थामा फेला पारिएको थियो।

घटनाको वास्तविकता सार्वजनिक गर्न, अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन र दोषीलाई कानुनी कारबाहीमा ल्याउन दबाब सिर्जना गर्ने उद्देश्यले प्रदर्शन गरिएको आयोजक पक्षको भनाइ छ।

गरिमा प्रकरणलाई लिएर यसअघि पनि न्यायको माग गर्दै सार्वजनिक रूपमा आवाज उठ्दै आएको छ। पछिल्लो प्रदर्शनले बालबालिकाविरुद्ध हुने गम्भीर अपराधमा राज्यको अनुसन्धान तथा दण्ड प्रणाली प्रभावकारी हुनुपर्ने विषयलाई पुनः सार्वजनिक बहसमा ल्याएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर