रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोग र उद्धारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिष्ठानका उपकुलपति अजयकुमार मिश्रद्वारा जारी गरेको सार्वजनिक प्रतिबद्धतामा बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

विपद्को दुःखद घडीमा बाढीपीडितको सहयोग र उद्धारका लागि प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरूको स्वेच्छाबाट दुई दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको जनाइएको छ ।

त्यसैगरी प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरूले आफ्नो तहबाट आर्थिक तथा भौतिक सहयोगसमेत गरिरहेको उल्लेख गरिएको छ । आवश्यकता र परिस्थितिका आधारमा आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले नेपाल सरकारका विभिन्न निकायसँग समन्वय गरी विपद् प्रभावित क्षेत्रका नागरिकलाई आवश्यक स्वास्थ्य सेवासहित अन्य सहयोग उपलब्ध गराउन सधैँ तत्पर रहने प्रतिबद्धता व्यक्त गरेको छ । प्राकृतिक विपद्का साथै सम्भावित प्राकृतिक तथा मानव सिर्जित आपत्कालीन अवस्थाबाट प्रभावित नागरिकको जीवनरक्षा र स्वास्थ्य सेवा प्रवाहका लागि प्रतिष्ठान सदैव तयार र प्रतिबद्ध रहेको सार्वजनिक प्रतिबद्धतामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर