पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका(३ स्थित परेवाभिरमा अवरुद्ध सडकको विकल्पमा नयाँ ट्रयाक खोलिएको छ ।
त्रिशूली नदीको बाढीले कटान गरेर सडक पूर्ण रूपमा भासिएपछि अवरुद्ध बनेको सो स्थानमा जिल्ला प्रहरी कार्यालय धादिङको पहलमा वैकल्पिक मार्ग तयार पारिएको हो ।
बाढीले क्षति पुर्याएको खण्डलाई छलेर १०० मिटर लम्बाइको नयाँ ट्रयाक खोलेपछि हाल उक्त सडकमा सवारी साधनहरू सामान्य रूपमा चल्न थालेका छन् । यद्यपि, नयाँ खोलिएको वैकल्पिक मार्गमा पूर्ण रूपमा सुरक्षित वातावरण बनइनसकेकाले यात्रा अझै पनि जोखिमपूर्ण रहेको प्रहरीले चेतावनी दिएको छ ।
यसअघि त्रिशूलीको बाढीले नै सोही राजमार्गको कृष्णभिरमा पनि सडक भासाएपछि यातायात पूर्ण रूपमा ठप्प बनेको थियो । मुख्य राजमार्गका विभिन्न खण्डमा बाढीले ठूलो क्षति पुर्याएपछि हाल संघीय राजधानी काठमाडौं आवतजाउ गर्नका लागि वैकल्पिक रुटको रूपमा चितवनको नारायणगढ हुँदै हेटौंडा भएर काठमाडौंतर्फका तीनवटा रुटबाट सवारीसाधनहरू सञ्चालन भइरहेका छन् ।










