कृष्णभीरमा पहिरिएको सडक मर्मतको काम अघि बढेको छ। रसुवामा बाढी आएको चार दिन पछि भदौ १४ गते भासिएको कृष्णभीरको सडक मर्मत कार्य बिहीबारदेखि अघि बढेको हो।
पूर्वाधार विकास मन्त्रालयका अनुसार अहिले पहिरो पन्छाउने काम भएको छ। दुवै छेउबाट १८ जना परिचालन गरी रूख कटानको काम भइरहेको मन्त्रालयले जनाएको छ।
रूख कटानको काम सम्पन्न हुनेबित्तिकै पहिरो पन्छाउने काम सुरू हुने मन्त्रालयले जनाएको छ। राजमार्ग अवरूद्ध हुँदा यातायात सञ्चालनमा अवरोध भएको छ।
विकल्पमा हेटौंडा हुँदै काठमाडौं जोड्ने सडक सञ्चालनमा छ। सबै सवारी साधनले सोही मार्ग प्रयोग गर्दा सवारी चाप बढेको छ। सडक सञ्चालनलाई प्राथमिकतामा राखी काम तीव्र गतिमा अघि बढाइएको मन्त्रालयले जनाएको छ।










