रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ।

उद्धारका लागि सुरुङभित्र प्रवेश गरेको टोलीले एकजनाको शव फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

यसअघि नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले शुक्रबार बिहान सुरुङबाट ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जनलाई जीवितै उद्धार गरेको थियो। सप्तरीका साह आयोजनामा मेकानिकल फोरम्यान र काठमाडौंका महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए।

भदौ १० गते भोटेकोसीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ आयोजनामा कार्यरत ४२ जना सम्पर्कविहीन भएका थिए। त्यसयता सुरुङ तथा आयोजनाका अन्य संरचनामा फसेका व्यक्तिको खोजी तथा उद्धार कार्य जारी छ।

उद्धारमा खटिएको सशस्त्र प्रहरी टोलीका अनुसार सुरुङभित्र रहेका सात तल्लामध्ये पाँच तल्लासम्म टोली पुगेको छ। सोही क्रममा एकजनाको शव फेला परेको हो। बाढीपछि लामो समयदेखि सम्पर्कविहीन रहेका व्यक्तिको खोजीमा सुरक्षा निकाय तथा प्राविधिक टोलीले निरन्तर उद्धार अभियान सञ्चालन गरिरहेका छन्।

जीवितै उद्धारको सम्भावना कायम राख्दै सुरुङका बाँकी भागमा समेत खोजी तीव्र पारिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर