प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेकी छन्।

बुधबार भएको भेटमा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि आभार व्यक्त गरेका छन्।

भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्का कारण नेपाली नागरिकसँगै विदेशी नागरिकसमेत प्रभावित भएको बताएका छन्। उनले जलवायु परिवर्तनको असरका कारण यस्तो परिस्थितिको सामना गर्नुपरेको उल्लेख गर्दै जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण र त्यसबाट हुने प्रभाव सम्बोधनका लागि विश्वव्यापी सहकार्य तथा सामूहिक प्रयासलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्री शाहले नेपालको पर्यटन क्षेत्रमा रहेको सम्भावनाबारे समेत राजदूत बोल्डिनसँग छलफल गरेका छन्। पर्यटन क्षेत्रको विकासमार्फत नेपाल र अमेरिकाबीच पारस्परिक लाभ हासिल गर्न सकिने अवसर रहेको उल्लेख गर्दै उनले नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्ने बताएका छन्।

भेटमा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित समुदाय तथा शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकी छन्।

उनले विपद्को यस कठिन समयमा अमेरिकी सरकार नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताउँदै राहत, पुन:स्थापना तथा पुनर्निर्माणका प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तयार रहेको जानकारी गराएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर