विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय वा शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रयास नगर्न सचेत गराएका छन्।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल गर्दै मन्त्री पुनले प्रयोगशालाको प्राथमिक उद्देश्य अनुसन्धान र नवप्रवर्तन हुनुपर्नेमा जोड दिएका हुन्।

विधि विज्ञान प्रयोगशालालाई आम्दानीको स्रोत वा डिग्री बाँड्ने थलो बनाउन नहुने उनले बताए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लगायतका निकायहरू समेत अनुसन्धानमा केन्द्रित हुनुपर्नेमा पठनपाठन र डिग्री प्रदान गर्ने काममा लाग्नु त्रुटिपूर्ण रहेको मन्त्री पुनले बताए। पठनपाठनका लागि मुलुकभर पर्याप्त विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू रहेकाले प्रयोगशालाहरूलाई अनुसन्धानमै सीमित राख्नुपर्ने उनको भनाइ छ।

‘नेपालमा अहिले धेरै विश्वविद्यालय खोल्ने दौड छ, तर गुणस्तरमा कसैको ध्यान छैन,’ मन्त्री पुनले भने, ‘विधि विज्ञान प्रयोगशालाजस्तो अति आवश्यक संस्थालाई शैक्षिक प्रतिष्ठानको रूप दिँदा भोलि यसलाई पूर्ण विश्वविद्यालय बनाउने दबाब सिर्जना हुन सक्छ, जुन संस्थागत हितमा छैन।’

प्रतिक्रिया

सम्बन्धित खवर