अविरल वर्षाका कारण देशको विभिन्न भागमा आएको बाढी र पहिरोले विद्युत् पूर्वाधारमा गम्भीर क्षति गरेको छ । जलविद्युत् आयोजना, प्रसारण लाइन र सबस्टेसनमा क्षति पुग्दा मुलुकको विभिन्न भागमा विद्युत् आपूर्ति प्रभावित भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढीपहिरो, प्रसारण लाइनमा फाल्ट, उपकरण जलेको र लाइन ओभरलोड हुँदा पोखरा, बुटवल, हेटौँडा तथा काठमाडौँ उपत्यका क्षेत्रमा विद्युत् सेवामा अवरोध खडा भएको छ। विभिन्न समयमा भएका अवरोध, उत्पादन कटौती र लोड कर्टेलमेन्टलाई जोड्दा करिब १ हजार ३०३ मेगावाट बराबरको विद्युत् क्षमता प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएको छ।
बाढी र पहिरोका कारण पोखरा क्षेत्रको विद्युत् प्रणालीमा सबैभन्दा ठुलो क्षति पुगेको छ । कुस्मा–न्यू बुटवल २२० केभी लाइनमा फल्ट आउँदा करिब २०० मेगावाट र राहुघाट–दाना प्रसारण लाइन (लाइन १ र २) मा आएको समस्याले करिब १५५ मेगावाट विद्युत् प्रवाह अवरुद्ध भएको छ।
त्यस्तै, कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस–नामर्जुङ, सेती नदी–करुवासेट, अपर दोर्दी र मोदी लगायतका साना–ठुला जलविद्युत् आयोजनामा बाढी पस्दा उत्पादन तथा आपूर्ति पूर्ण रूपमा ठप्प भएको छ । पोखरा र आसपासको आयोजनाबाट मात्रै ४०० मेगावाटभन्दा बढी क्षमता प्रभावित बनेको छ ।
बुटवल र हेटौँडा औद्योगिक क्षेत्रमा पनि विद्युत् आपूर्ति नराम्ररी प्रभावित भएको छ। न्यू बुटवल–कुस्मा २२० केभी लाइनमा फाल्ट आउँदा ११० मेगावाट प्रभावित भएकोमा मर्मत कार्य द्रूतगतिमा अघि बढाइएको छ।
न्यू भरतपुर–न्यू बुटवल २२० केभी लाइनमा रुख ढल्दा प्रसारण लाइन अवरुद्ध भएको थियो। उक्त लाइन पुनः सञ्चालनमा ल्याइसकिएको छ। यस्तै, चापर–पथलैया १३२ केभी लाइन ’आउट’ हुँदा कावासोती सबस्टेसनबाट १ घण्टा लोड कर्टेलमेन्ट गरिएको थियो।
माण्डु ६६ केभी लाइनमा बाढीले क्षति गर्दा ३२ मेगावाट आपूर्ति ठप्प भएको छ। कावासोती–भरतपुर १३२ केभी लाइनअन्तर्गत भरतपुर सबस्टेसनमा ‘सीभीटी’ जलेको छ । यसबाट अमलेखगञ्ज, परवानीपुर र वीरगञ्ज क्षेत्रका उद्योगहरूमा करिब ८० मेगावाट र सिमरा सबस्टेसनबाट २० मेगावाट लोड कटौती भएको छ ।
काठमाडौँ उपत्यकाका पाटन र टेकु सबस्टेसनमा बिहान ९ देखि ९ः१० बजेसम्म करिब १० मिनेट विद्युत् सेवा अवरुद्ध भएको थियो। पाटन क्षेत्रमा पथलैया लाइन र केएल–१ स्युचाटार ६६ केभी लाइन एकै पटक ओभरलोड भएपछि बाढीका कारण एमआरएस आपतकालीन आपूर्ति प्रयोग गरेर प्रणालीलाई यथास्थितिमा फर्काइएको प्राधिकरणले जानकारी दिएको छ।










