एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् ।
कतार एयरवेजको जहाजमार्फत उनी आज बिहान ८: ४५ बजे काठमाडौँ फर्किएका हुन् । भ्रमण नेपालको महत्त्वपूर्ण पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण र सदस्य मुलुकहरू बीच थप सहकार्यका लागि फलदायी भएको थियो ।
बैठकमा भाग लिन उनी असोज १० गते कतारको राजधानी दोहा प्रस्थान गरेका थिए। ।
उनले नेपालजस्ता मुलुकको आवश्यकतासँग मेल खाने गरी बैंकको लगानीलाई अधिकतम सहुलियतपूर्ण बनाउने उपाय तथा स्वदेशी र विदेशी निजी पुँजीलाई आकर्षित गर्ने तरिकाले वित्तको उपलब्धता गराउनुपर्ने आवश्यकता बारे पनि बैठकमा धारणा राखेका थिए ।
बैठकका क्रममा उनले एआईआईबीका अध्यक्ष, बैंकका सदस्य राष्ट्रहरू कतार, भारत,बंगलादेश,आर्मेनिया,जर्जियाका अर्थमन्त्रीसँग द्विपक्षीय हित, आर्थिक सहकार्य, लगानी विस्तार र नेपालले भोगेको प्राकृतिक विपत्ति पछिको पुनर्निर्माणमा सहयोगबारे छलफल गरेका थिए ।
नेपाल पहिलो पटक एसियाली पूर्वाधार लगानी बैंकको उप–सभापतिमा निर्वाचित भएसँगै मुलुकको महत्त्वपूर्ण पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण र सहकार्यका लागि थप मार्ग प्रशस्त हुने आशा गरिएको छ।










