बेनी-बाबियाचौर सडक खण्ड सञ्चालनमा आएको छ । पछिल्लो झरीका कारण प्रभावित बनेको उक्त सडक चार दिनपछि सञ्चालनमा आएको हो ।

म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने उक्त सडक सञ्चालन भएपछि स्थानीयको जनजीवन सहज भएको छ ।

पूर्वाधार विकास कार्यालयले जिल्ला सदरमुकाम बेनीदेखि मंगला गाउँपालिकाको केन्द्र रहेको बाबियाचौर हुँदै पानाबगरसम्म १६ किलोमिटर सडक मर्मत गरेर मंगलबार साँझदेखि यातायात सञ्चालनमा ल्याएको हो ।

गण्डकी प्रदेश सरकार मातहत रहेको धवलागिरि, मालिका, मंगला र बागलुङको तमानखोला गाउँपालिका जोड्ने २४ किलोमिटर दूरीको बेनी दरबाङतर्फबाट बांगेपहिरोसम्म मर्मत भएको छ ।
उक्त सडक असोज १० गतेदेखि अवरुद्ध हुँदा म्याग्दीको पश्चिमी क्षेत्रको जनजीवन प्रभावित भएको थियो ।

पूर्वाधार विकास कार्यालयमार्फत उपकरण परिचालन गरेर बेनीदेखि पानाबगर खण्डको सडक खुलाएको र आजदेखि पानाबगर–रणबाङ–दुखु–रातोढुंगा–तोलाबाङ–बांगेपहिरो खण्डमा दुईतर्फबाट मर्मत कार्यलाई तीव्रता दिने म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले जानकारी दिए ।

“पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहतका साथै जनजीवनलाई सहज बनाउनका लागि मुख्यमन्त्री र भौतिक मन्त्रालयसँग समन्वय गरेर जतिसक्दो चाँडो सडकमा यातायात सञ्चालनका लागि जुटेका छौँ”, उनले भने, “तीन दिनमा बाबियाचौरसम्म सडक खुलाएका छौँ ।”

मंगला, मालिका र धवलागिरि गाउँपालिकामा खण्ड खण्डमा उपलब्ध भएका उपकरण परिचालन गरेर सडक मर्मतको कामलाई तीव्रता दिन आफैँ स्थलगत रूपमा खटिएको सांसद जुग्जालीले बताए।

स्थानीय तह, प्रदेश र संघीय सरकारले आ–आफ्ना मातहत रहेका सडकलाई मर्मत गरेर जतिसक्दो चाँडो यातायात सञ्चालनको व्यवस्था मिलाउने जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार तीनै तहका जनप्रतिनिधि र निकायसँग समन्वय गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए ।

पछिल्लो समय रसुवा बाढीपछि चीनसँगको मुख्य व्यापारिक नाका कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको तिल्केनीचौरमा काली गण्डकीले सडक कटान, पोखरेबगरमा सडक पुलको पहुँच मार्ग र खामभित्तामा कटान गरेको छ । क्षतिको विवरण बुझेर सडक मर्मतको काम अघि बढाउन संघीय सरकारले खटाएका प्राविधिक टोली मङ्गलबार म्याग्दी आएर सडकको निरक्षणमा जुटेका प्रजिअ गैरेले बताए । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको यातायात सम्पर्क बिच्छेद भएको छ ।

कोरला नाकाबाट हुने आयात निर्यात प्रभावित भएको छ । मुस्ताङबाट स्याउ र च्याङ्ग्रा बिक्रीका लागि बजार पठाउन समस्या भएको छ । सोह्र श्राद्धमा कागबेनीमा हिन्दु धर्मावलम्बीले पितृ तर्पण दिने गर्छन् । शरदयाम पर्यटकको सिजन पनि हो ।

प्रतिक्रिया

सम्बन्धित खवर