सल्यानका १० पालिकामध्ये सात पालिकामा कीटजन्य सरुवा रोग स्क्रब टाइफस फैलिएको छ। स्वास्थ्य सेवा कार्यालय सल्यानको पछिल्लो अद्यावधिक विवरणअनुसार जिल्लाभर सरकारी तथा निजी स्वास्थ्य संस्थामा दुई हजार ३२२ जनाको परीक्षण गर्दा ४५८ जनामा संक्रमण पुष्टि भएको छ। जिल्लाको संक्रमणदर १९.७२ प्रतिशत रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।
विभिन्न पालिका र जिल्ला अस्पतालसहितका सरकारी स्वास्थ्य संस्थामा परीक्षण गराएका एक हजार ९८४ जनामध्ये ३७० जना अर्थात् १८.६५ प्रतिशतमा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तारा रिजालले जानकारी दिए। त्यस्तै, बागचौरस्थित निजी स्वास्थ्य संस्थामा परीक्षण गराएका ३३८ जनामध्ये ८८ जना अर्थात् २६.०४ प्रतिशतमा स्क्रब टाइफस पोजेटिभ देखिएको उनले बताए । यस संक्रमणका कारण दार्मा गाउँपालिकामा मात्रै हालसम्म आठ जनाको मृत्यु भएको छ।
संक्रमितमध्ये महिलाको सङ्ख्या उच्च रहेको देखिएको छ। कुल ४५८ संक्रमितमध्ये ३६० जना अर्थात् ७८.६० प्रतिशत महिला र ९८ जना अर्थात् २१.४० प्रतिशत पुरुष छन्। खेतबारीमा काम गर्ने, घाँस–दाउरा गर्ने तथा पशुपालनमा महिलाको प्रत्यक्ष संलग्नता बढी हुने भएकाले माइट (सूक्ष्म किरा) को टोकाइबाट उनीहरूमा संक्रमणको जोखिम बढी देखिएको स्वास्थ्यकर्मीले बताएका छन्।
दार्मा गाउँपालिका संक्रमणको केन्द्रका रूपमा देखिएको छ। दार्मामा सरकारी स्वास्थ्य संस्थामार्फत ५३२ जनाको परीक्षण गर्दा ११६ जनामा संक्रमण पुष्टि भएको छ। जिल्लाभर मृत्यु भएका आठै जना दार्माका रहेका छन्। मृत्यु हुनेमा एक महिला र सात पुरुष रहेको जनस्वास्थ्य अधिकृत रिजालले जानकारी दिए।
अन्य पालिकामा पनि संक्रमणको अवस्था उल्लेख्य देखिएको छ। कपुरकोट गाउँपालिकामा परीक्षण गरिएका १५६ जनामध्ये ५२ जना, कुमाख गाउँपालिकामा १८१ जनामध्ये ५४ जना र बागचौर नगरपालिकामा ६२९ जनामध्ये १६८ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै, छत्रेश्वरी गाउँपालिकामा परीक्षण गरिएका २७ जनामध्ये छ जना, कालीमाटी गाउँपालिकामा २१ जनामध्ये दुई जना र बनगाड कुपिण्डे नगरपालिकामा परीक्षण गरिएका सातै जनामा संक्रमण देखिएको छ। जिल्ला अस्पतालमा परीक्षण गरिएका ७६९ जनामध्ये ४४ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
संक्रमणको जानकारी पाएलगत्तै स्वास्थ्य सेवा कार्यालय सल्यानले सम्बन्धित स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारसँग आवश्यक समन्वय गरी प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य समूह परिचालन गरेको जनाएको छ।










