प्रतिनिधि सभा, कानुन, न्याय तथा मानव अधिकार समितिले विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ पारित गरेको छ ।
समितिको आजको बैठकले उक्त प्रतिवेदन सदस्यबाट प्राप्त राय–सुझावलाई समेटेर परिमार्जनसहित बहुमतले पारित गरेको हो । बैठकले उक्त प्रतिवेदन संसद्मा पेस गर्ने निर्णय गरेको छ ।
त्यसअघि बैठकमा उक्त प्रतिवेदनमाथि सामान्य छलफल भएको थियो । छलफलमा सदस्य बलातवी शर्मा, मोहनलाल आचार्य, सरस्वती लामा, मनिष खनाल, प्रकाशचन्द्र परियार, साजिदा खातुन सिद्धिकी, स्मृति सेन्चुरी, नीनुकुमारी कर्ण, खिमा विक र अफ्साना बानुले भाग लिए ।
बैठकले बालसुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन पनि संसद् बैठकमा पेस गर्ने निर्णय गरेको समितिका सचिव रामहरि थापाले जानकारी दिए।
गत जेठ ८ गतेको समितिको बैठकले पाँच/पाँच सदस्यीय ‘बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमिति’ र ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमिति’ गठन गरेको थियो ।










