चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्र सरकारले बाढी प्रभावित क्षेत्रमा जडान गर्न नेपाललाई दुई वटा बेली पुलका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ।
नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रहरूमा जडान गर्न ३० वटा बेली पुल उपलब्ध गराउन ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले सिजाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयसँग अनुरोध गरेको थियो। सोही अनुरोधअनुसार चीनले पहिलो चरणमा १०० मिटर लम्बाइका दुई वटा बेली पुल निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराएको हो।
ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा आयोजित हस्तान्तरण तथा ग्रहण समारोहमा ल्हासाका लागि नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र सिजाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयका उपमहानिर्देशक ओउयाङ झिबिङले हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर गरी एक–आपसमा आदानप्रदान गरे । उक्त समारोहमा दूतावास तथा सिजाङको विदेश मामिला कार्यालयका अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
चीनले उपलब्ध गराएका सामग्रीहरूमा बेली प्यानल, स्टिफनिङ कर्ड, स्वे ब्रेस, ब्रेस बोल्ट, बेली पिन, डेकिङ प्यानल, स्टिल प्लेट, बीम, च्यानल स्टिल तथा पाइप वेल्डिङ लगायतका निर्माण सामग्री रहेका छन्।










