अभिनेता अनमोल केसी स्टारर फिल्म ‘बाटुलो जून’को टिजर सार्वजनिक भएको छ। भुवन केसी निर्देशित फिल्मको टिजरमार्फत निर्माण पक्षले यसको कथाको परिवेश र प्रेमकथाको झलक प्रस्तुत गरेको हो।

३० को दशकको परिवेशमा आधारित ‘बाटुलो जून’ले त्यतिबेलाको सामाजिक अवस्था, जीवनशैली र प्रेम गर्ने तौरतरिकालाई कथामा समेटेको छ। शुक्रबार सार्वजनिक टिजरले  पात्र र परिवेशको झलक दिन्छ।

अनमोलले टिजर सार्वजनिक गर्दै सामाजिक सञ्जालमा यो आफ्नो फिल्म यात्राको १२ औं पाइला भएको उल्लेख गरेका छन्। उनले फिल्ममा देखिएको जुँगालाई आफ्ना बुवाप्रतिको सानो श्रद्धाका रूपमा समेत व्याख्या गरेका छन्।

अनमोलले लेखेका छन्, ‘एउटा नयाँ यात्रा, एउटा नयाँ रूप, अनि यो जुँगामार्फत बुवाप्रतिको सानो श्रद्धा।’ गत वर्षको ब्लकबस्टर फिल्म ‘जेरी अन टप’पछि अनमोलले अभिनय गरेको नयाँ फिल्मका रूपमा ‘बाटुलो जून’ आउन लागेको हो।

फिल्ममा अनमोलसँगै प्रिन्सी खतिवडा शीर्ष भूमिकामा छिन्। उनले ‘बाटुलो जून’ मार्फत फिल्ममा डेब्यू गरेकी हुन्। फिल्ममा भुवन केसीको अभिनय छ भने बेल्जियममा बसोबास गर्दै आएकी अभिनेत्री गरिमा पन्त पनि यही फिल्मबाट अभिनयमा कमब्याक गरेकी छन्।

साथमा न्यान्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेयर राई, श्वेता मिश्रलगायत कलाकारको पनि अभिनय छ। फिल्मको कथा सामिप्यराज तिमिलसेना, सरिन पोखरेल, काजल केसीको हो भने पटकथा सामिप्यराज तिमल्सेना र सरिन पोखरेलले लेखेका हुन्।

जिया केसी र भविष्य खड्का निर्माता रहेको फिल्ममा विवेक थापा सह-निर्माता छन्। फिल्ममा राजेश श्रेष्ठको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ। ‘बाटुलो जून’ कार्तिक २६ गतेदेखि प्रदर्शनमा आउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर