फिल्म ‘सिन्दूर’को छायाङ्कन सुरु भएको छ । शुक्रबार पश्चिम नेपालको दाङ जिल्लाबाट फिल्मको छायाङ्कन सुरु गरिएको निर्माण पक्षले बताएको छ ।
कस्तुरी प्रोडक्सन प्रा.लिको प्रस्तुति तथा क्लासिक सिने यूनिभभर्स प्रा.लिको सहकार्यमा निर्माण हुन लागेको फिल्म लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा बन्न लागेकाे हाे । फिल्ममा सञ्जीव सार्कीको लगानी रहनेछ । लक्ष्मणले यसअघि ‘बुलाकी´ र `परालको आगो’ निर्देशन गरेका थिए ।
कार्यकारी निर्माता दिनेश सिंह महरा हुन् । संकल्प भुजेलको छायाङ्कन रहने यो फिल्ममा प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत रहनेछ । प्रकाश हमाल निर्माण प्रमुख रहेको फिल्ममा करण बहादुर साउदको मुख्य सहायक निर्देशन, रामजी लामिछानेको नृत्य निर्देशन रहने पक्का भएको छ ।
फिल्ममा नायक पुष्प खड्का र नायिका प्रशंसा रायमाझीको जोडीलाई पर्दामा हेर्न पाइनेछ । एक महिनाको सेड्यूल तयार गरेर छायाङ्कन सुरु गरिएको निर्माण पक्षले बताएको छ ।
यो फिल्मले सामाजिक कथावस्तुलाई उठान गरेको छ । एक महिलाका लागि सिन्दूरको महत्त्व कति छ भन्ने कथालाई यो फिल्मले उठान गर्नेछ ।










