मनाङको हिमलुङ हिमाल आधार शिविरमा नेपाल पर्वतारोहण तथा पर्वतीय मार्गदर्शन संघको खोज तथा उद्धार टोलीले १५ जनाको शव फेला पारेको छ । एक जना अझै बेपत्ता छन् ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार फेला परेका तथा पहिचान भएका शवहरू छेबी भोते, पासाङ भोते, वीरेन्द्र गुरुङ, घनश्याम राई, बिर्ख ध्वज तामाङ, जगत तामाङ, कलाम बुढा, लकुमार राई, ङिमा दोर्जे तामाङ, सन्ता वीर तामाङ, सुरज राई, उर्खा ध्वज बोहरा, प्रेम तामाङ, किर्ते शेर्पा र आश गुरुङका हुन् ।

पासाङ नुरी शेर्पा भने अझै बेपत्ता रहेको एनएनएमजीएले जनाएको छ ।अत्यन्त कठिन मौसम र १४ फिटभन्दा बढी हिउँ जमेको अवस्थामा समेत टोलीले सम्भावित जीवित व्यक्तिको खोजी गर्नुका साथै ज्यान गुमाएकाहरूको शव निकालेको संघले जनाएको छ ।

खोज तथा उद्धार अभियानको पहिलो चरणको नेतृत्व अन्तर्राष्ट्रिय पर्वतीय मार्गदर्शक महासंघका पर्वतीय मार्गदर्शक मिङ्मा जी. शेर्पाले गरेका थिए । दोस्रो चरणको नेतृत्व सोही महासंघका पर्वतीय मार्गदर्शक पासाङ काजी शेर्पाले गरेका थिए ।

मनाङको हिमलुङ हिमाल आधार शिविर क्षेत्रमा असोज ११ गते गएको हिमपहिरोमा १२ जना भान्साका कर्मचारी र दुई जना गाइड बेपत्ता भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर