नेपाली काँग्रेसको १५औँ महाधिवेशन आज अपराह्न खुलामञ्चमा हुँदैछ । यही असोज २२ गतेसम्म हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । महाधिवेशन तालिकाअनुसार आज असोजको १८ गते उद्घाटन सत्र, असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन प्रक्रिया हुनेछ ।

देशभर निरन्तरको वर्षाका कारण यही असोज १६ गतेका लागि निर्धारित महाधिवेशन आजदेखि प्रारम्भ हुन लागेको हो । देश र विदेशबाट महाधिवेशन प्रतिनिधिहरू सहभागी हुन काठमाडौँ आउने क्रम जारी छ । महाधिवेशन तयारीका लागि गठन गरिएका विभिन्न १५ समितिले आ–आफ्नो तयारी गरिरहेका छन् । उद्घाटनस्थल खुलामञ्चमा भव्य मञ्च निर्माण गरिएको छ । खुलामञ्चमा नै बन्दसत्र सञ्चालनका लागि भिन्न भिन्न ठूला हलहरू बनाइएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए । महाधिवेशन स्थलमा नै मिडिया सेन्टर तथा प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरिएको छ ।

आवास व्यवस्थापन समितिले हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक/एक जना संयोजक तोकेर सम्बन्धित भूगोलका महाधिवेशन प्रतिनिधिका लागि बसोबासको समन्वय गर्ने प्रबन्ध गरेको छ । आवासका लागि एअरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलङ्की र नयाँ बसपार्क क्षेत्रमा व्यवस्था गरिएको छ । सहभागीले यससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसबाट प्राप्त गर्नेछन् । बिहान, दिउँसो र साँझको भोजन व्यवस्था भने भृकुटीमण्डपमा गरिएको आवास व्यवस्थापन समितिले जनाएको छ ।

यसैगरी, केन्द्रीय निर्वाचन समितिका अनुसार यो महाधिवेशनमा करिब सात हजार ७०० महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् । काँग्रेसको इतिहासमा नै पहिलोपटक यति ठूलो सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरू निर्वाचित भएका हुन् ।

उद्घाटन र बन्दसत्र एउटै स्थानमा
काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटनसँगै बन्दसत्र पनि काठमाडौँको खुलामञ्चमै हुनेछ । ठूलो सङ्ख्यामा प्रतिनिधि व्यवस्थापन गर्न त्यहीअनुसार संरचना निर्माण गरिएको छ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलगअलग प्रतिवेदन पेस गर्ने तालिका छ ।

खुलामञ्चमा हुने महाधिवेशनका बन्दसत्रका लागि तीनवटा ठूला संरचना तयार गरिएको छ । ठूलो सङ्ख्यामा रहेका प्रतिनिधिलाई व्यवस्थित रूपमा सहभागी गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । छलफल चलाइने ती हलहरूको नाम हिमाल, पहाड र तराइ–मधेस राखिएको छ ।

प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाई तीन फरक हलमा छलफल हुनेछ । हरेक हलमा रहेका डिजिटल बोर्डबाट सहभागीले प्रस्तुत प्रतिवेदन सुन्न र हेर्न पाउनु हुने प्रवक्ता चालिसे बताए ।

उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलको नेतृत्वलाई आमन्त्रण गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछाने, नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टी अध्यक्ष चन्द्रकान्त राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चा अध्यक्षका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल उद्घाटन कार्यक्रममा सहभागी हुने भएका छन् ।

अन्तर्राष्ट्रिय अतिथिहरूमा सोसलिष्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवालगगायत अतिथि महाधिवेशनमा सहभागी हुन नेपाल आइसकेका छन् ।

ऐतिहासिक स्थलमा १५औँ महाधिवेशन
काँग्रेसका संस्थापक एवं प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले निर्वासनबाट स्वदेश आगमनपछि पहिलो सार्वजनिक सम्बोधन गर्नुभएको स्थलमा पार्टीको १५औँ महाधिवेशन हुँदैछ ।

त्यही टुँडिखेलमा काँग्रेसका अर्का संस्थापक नेता गणेशमान सिंहले निरङ्कुश सत्ताको अन्त्यका लागि भएको २०४६ सालको जनआन्दोलनको सफलताको उद्घोष गरेका थिए । महाधिवेशनको उद्घाटन सभापति गगनकुमार थापाले गर्ने छन् भने उद्घाटन सत्रमा काँग्रेसका शीर्ष नेताहरूका साथै मुलुकका प्रमुख राजनीतिक दलका प्रमुख नेताहरूको पनि सम्बोधन हुनेछ ।

प्रवक्ता चालिसेले भने, “यो यसकारण पनि ऐतिहासिक महाधिवेशन हो, जुन महाधिवेशनको प्रक्रियाबाट नवपुस्ताका ४४ हजार युवा जिम्मेवारीमा आएका छन् र उनीहरूसहितले छानेका सात हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी हुँदैछन् ।” गत पुस २८ देखि माघ ३ गते सम्पन्न काँग्रेसको दोस्रो विशेष महाधिवेशनपछि यो महाधिवेशन हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर