नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको कार्यकाल दुई पटकमा सीमित गर्ने प्रस्ताव अघि सारेका छन्। १५औँ महाधिवेशनमा पेस गर्न तयार पारिएको राजनीतिक प्रतिवेदनमा उनले सत्ता र नेतृत्वमा लामो समयसम्म व्यक्तिगत पकड रहने अवस्था अन्त्य गर्न प्रधानमन्त्रीको कार्यकाल सीमा निर्धारण गर्नुपर्ने प्रस्ताव गरेका हुन्।
थापाको प्रतिवेदनमा कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था गर्न कांग्रेसले पहल गर्ने उल्लेख छ। पटक–पटक एउटै व्यक्तिको नेतृत्वमा सरकार बन्ने प्रवृत्तिले राजनीतिक अस्थिरता र जनअसन्तुष्टि बढाएको निष्कर्षसहित कार्यकाल सीमित गर्ने प्रस्ताव अघि सारिएको हो।
त्यस्तै, पार्टीभित्र भ्रष्टाचार र अनियमिततामा आफ्नै पक्षका नेता वा कार्यकर्तालाई संरक्षण नगर्ने प्रतिबद्धता पनि प्रतिवेदनमा समेटिएको छ। भ्रष्टाचारको आरोप लागेका व्यक्तिमाथि स्पष्ट निलम्बन प्रक्रिया लागू गर्ने तथा यस्ता विषयमा छानबिन गर्न स्वतन्त्र आन्तरिक ‘ओम्बुड्सम्यान’ गठन गर्ने प्रस्ताव गरिएको छ।
प्रतिवेदनमा पार्टी पदाधिकारी तथा जनप्रतिनिधिका लागि उच्च नैतिक मापदण्ड लागू गर्ने, वित्तीय पारदर्शिता र सार्वजनिक लेखापरीक्षण अनिवार्य बनाउने प्रस्तावसमेत गरिएको छ।
थापाको प्रतिवेदनले सत्ता सञ्चालनदेखि पार्टीभित्रको आन्तरिक अनुशासनसम्म सुधार गर्दै कांग्रेसलाई सुशासन र जवाफदेहिताको पक्षमा उभ्याउने नीति अघि सारेको देखिन्छ।










