नेपाल राष्ट्र बैंकले एक रुपैयाँ दरका ४० करोड थान नयाँ चलनचल्तीका सिक्का टकमारी गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकले सिक्काको डिजाइनदेखि टकमारी, आपूर्ति र डेलिभरीसम्मका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको हो।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना जारी गर्दै यसअघि पूर्वयोग्य ठहरिएका सुरक्षण सिक्का टकमारी कम्पनीहरूबाट बोलपत्र माग गरेको छ।
बोलपत्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक विधिअन्तर्गत एक चरणको दुई खाम प्रणालीबाट अघि बढाइनेछ। यसअनुसार बोलपत्रदाताले प्राविधिक र वित्तीय प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी खाममा पेस गर्नुपर्नेछ।
इच्छुक पूर्वयोग्य कम्पनीले आगामी नोभेम्बर २ सम्म बोलपत्रसम्बन्धी कागजात खरिद गर्न सक्नेछन्। सिलबन्दी बोलपत्र भने नोभेम्बर ३ दिउँसो १२ बजेसम्म राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथलीमा पेस गर्नुपर्नेछ। प्राप्त बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिने कार्यक्रम छ। बोलपत्रमा सहभागी कम्पनीले कम्तीमा एक लाख ४८ हजार अमेरिकी डलर बराबरको बोलपत्र जमानत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। बोलपत्र कम्तीमा १२० दिनसम्म मान्य हुनुपर्नेछ।
राष्ट्र बैंकले यसअघि सिक्का डिजाइन, टकमारी तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय कम्पनीहरूको पूर्वयोग्यता प्रक्रिया पूरा गरिसकेको छ। उक्त प्रक्रियाबाट चीन, रुस, पोल्यान्ड, स्लोभाकिया, क्यानडा र नेदरल्यान्ड्सका गरी छ कम्पनी पूर्वयोग्य सूचीमा परेका छन्।










