नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरू भएको छ । केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले बन्दसत्रमा पेश गर्ने प्रस्ताव तथा एजेन्डा पारित गरेपछि प्रतिनिधिहरूलाई तीनवटा क्लस्टरमा विभाजन गरी छलफल सुरू गरिएको हो ।
कांग्रेसले बन्दसत्रका लागि हिमाल, पहाड र तराई-मधेस गरी तीनवटा हल निर्धारण गरेको छ । प्रदेश तथा विभिन्न समूहका प्रतिनिधिहरूलाई सम्बन्धित हलमा विभाजन गरिएको छ ।
हिमाल हलमा कोशी प्रदेशका १ हजार ११७, कर्णालीका २९९ र गण्डकीका ७१५ गरी २ हजार ३३१ प्रतिनिधि सहभागी छन्। पहाड हलमा बागमतीका १ हजार २१७ र लुम्बिनीका १ हजार ९ गरी २ हजार २२६ प्रतिनिधि छन् ।
त्यस्तै, तराई–मधेस हलमा मधेश प्रदेशका १ हजार २५६, सुदूरपश्चिमका ६५०, जनसम्पर्क समितिका २४५ र भ्रातृ संगठनका २२५ प्रतिनिधि सहभागी छन् ।
बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्री प्रदीप पौडेलले पेश गरेको पार्टी सञ्चालन तथा विधानसम्बन्धी प्रस्ताव र उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक प्रस्तावमाथि छलफल हुने कांग्रेसले जनाएको छ ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सभापति थापाको राजनीतिक प्रस्तावमा आगामी चार वर्षका लागि पार्टीको कार्यदिशा, सरकार, देशको समग्र अवस्था तथा अन्तर्राष्ट्रिय सम्बन्ध र दृष्टिकोण समेटिएको छ ।
कांग्रेसले आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा नेतृत्व विकास र क्षमता अभिवृद्धिलाई प्राथमिकता दिने नीति अघि सारेको छ। नेतृत्व एकेडेमीबाट प्रशिक्षण तथा अध्ययन पूरा गरेका व्यक्तिलाई उम्मेदवार बनाउने अवधारणा प्रस्ताव गरिएको छ ।
त्यस्तै, महामन्त्री पौडेलले पेश गरेको विधान संशोधनसम्बन्धी प्रारम्भिक खाकामा वडा, क्षेत्र र जिल्ला तहमा थप पद सिर्जना गर्ने प्रस्ताव गरिएको छ। पार्टी सञ्चालन, निर्णय प्रक्रिया, जिम्मेवारी बाँडफाँट तथा संगठनात्मक संरचनालाई व्यवस्थित गर्ने विषयसमेत प्रस्तावमा समेटिएको छ ।
तर, प्रस्तावित संरचना अन्तिम भने नभएको प्रवक्ता चालिसेले स्पष्ट पारेका छन् । बन्दसत्रमा प्रस्तावमाथि छलफल भई प्रतिनिधिहरूले पारित गरेपछि मात्रै त्यसले अन्तिम रूप पाउने कांग्रेसले जनाएको छ ।










