यातायात व्यवस्था विभागले दसैँतिहार तथा छठका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा छलफल गर्न यातायात व्यवसायीलाई बोलाएको छ । भोलि बिहान ११ बजे विभागमा छलफल डाकिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले जानकारी दिए ।
सार्वजनिक यातायातको व्यवस्थापन, भाडादरमा छुटलगायतका चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापन गर्न काठमाडौं उपत्यकाबाट बाहिर जाने र बाहिर जिल्लाहरूबाट काठमाडौं उपत्यका प्रवेश गर्ने यात्रुहरूको सुविधा र सुरक्षाका सवालमा छलफल गरिने जनाइएको छ ।
चाडपर्वको समयमा मुख्य गन्तव्यहरूको यात्रालाई सहज र सुरक्षित बनाउन अग्रिम टिकट बुकिङ खुला गर्ने विषयसमेत छलफल गरिने विभागले जनाएको छ । मुख्य सरोकारावाला यातायात व्यवसायीसँगै ट्राफिक प्रहरी, यातायात सञ्चालक मजदुर र बसपार्क सञ्चालक तथा व्यवस्थापकलाई समेत छलफलमा बोलाइएको छ ।










