मनसुन बाहिरिरहँदा मुलुकका विभिन्न भूभागमा पानी परिरहेको छ। केही ठाउँमा छोटो समयमै भारी वर्षा भएको छ। गएको चौबीस घन्टामा पूर्वदेखि सुदूरपश्चिमसम्मै पानी परेको छ। कोशी र लुम्बिनी प्रदेशका केही भूभागमा त भारी वर्षा नै भएको छ।
बाँकेको ढकेरी जलमापन केन्द्रमा सोमबार बिहान एक घन्टाको अवधिमा ६१ मिलिमिटर वर्षा मापन भएको थियो ती क्षेत्रहरूमा आइतबारदेखि पानी पर्न थालेको हो। मनसुन शनिबार नै सूदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी प्रदेशका केही भूभाग र गण्डकीका केही भूभागबाट बाहिरएको थियो।
मौसमविद् डेबिट ढकालका अनुसार मनसुन उत्तरार्द्धमा पुगेपछि पनि वायुमण्डलमा पर्याप्त आद्रता भएमा छिटपुट स्थानमा अपेक्षाभन्दा बढी वर्षा हुन सक्छ। पछिल्लो समय पश्चिमी वायुको प्रभाव बढेकाले ती ठाउँमा पानी पर्ने क्रम र मात्रा बढेको उनले बताए। ‘मनसुनपछिको समयमा अलिकति बढी आद्रता आयो भने वर्षाको मात्रा बढ्न सक्छ।
हामीले मध्यमसम्म वर्षा हुने पूर्वानुमान गरेका थियौँ। तर त्यहाँ बादल विकास भएर वर्षा हुँदा भारी वर्षा भएको देखिन्छ,’ ढकालले भने। उनका अनुसार लुम्बिनी प्रदेशमा पश्चिमी वायुको प्रभाव बढी देखिएको छ। त्यसैले त्यहाँका केही स्थानमा भारी वर्षा भए पनि अन्य प्रदेशमा भने मध्यमसम्मको वर्षा हुने सम्भावना छ।
काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको उनले बताए। अहिले भइरहेको वर्षा कुनै नयाँ ठूलो मौसमी प्रणाली भित्रिएका कारण भने नभएको ढकालले स्पष्ट पारे। पश्चिमी वायु केही सक्रिय हुनुका साथै स्थानीय वायुको प्रभावले पनि वर्षा गराएको उनको भनाइ छ। यसले आगामी तीन दिनसम्मै वर्षा हुने उनले बताए।
तर वर्षा गराउने कारण पश्चिमी वायु र स्थानीय वायुको प्रभावमा मात्रै सीमित छैन। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार अहिले पश्चिमी वायुले टाढाटाढाबाट जलवाष्प बोकेर ल्याइरहेको छ। पूर्वी नेपालमा मनसुन अझै सक्रिय रहेकाले बंगालको खाडी र अरेबियन सागरबाट आउने जलवाष्पयुक्त हावाले पनि वर्षाका लागि अनुकूल अवस्था बनाएको हो।
पश्चिमी वायुले भूमध्यसागरीय क्षेत्रबाट जलवाष्प ल्याइरहेको र पूर्वमा बाँकी रहेको मनसुनले पनि वायुमण्डलमा आद्रता थपिरहेको पोखरेलले बताए। विभिन्न दिशाबाट आएको जलवाष्प र वायुमण्डलको अवस्थाले गर्दा मनसुन कमजोर हुँदै गएको समयमा पनि पानी परिरहेको उनको भनाइ छ।










