कर्णाली प्रदेशका अधिकांश भू–भागमा पछिल्लो २४ घण्टादेखि वर्षा भइरहेको छ। हुम्ला ,जाजरकाेट, दैलेख, सुर्खेत, रुकुम पश्चिमलगायतका जिल्लामा अहिले पनि वर्षा भइरहेकाले प्रदेशका सबै जिल्लामा आजका लागि मौसमसम्बन्धी चेतावनी जारी गरिएको छ।
प्रदेशका अधिकांश क्षेत्रमा वर्षा भइरहेकाले मौसमको अवस्था र पूर्वानुमानसम्बन्धी अद्यावधिक सूचना लिएर मात्रै दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरिएको छ। वर्षासँगै पहाडी तथा भिरालो क्षेत्रमा पहिरो जाने, सडक अवरुद्ध हुने तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ।
भोलि र पर्सिसमेत कर्णालीका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्रमा थप सावधानी अपनाउन आग्रह गरिएको छ। विशेषगरी पहिरोको जोखिम भएका बस्ती, सडक तथा नदी–खोला आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ।
वर्षाका कारण यातायात प्रभावित हुनसक्ने भएकाले लामो दूरीको यात्रा गर्नुअघि मौसम तथा सडकको अवस्था बुझ्न र जोखिमयुक्त सडकखण्डमा अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ। नदी तथा खोलामा पानीको बहाव बढेको अवस्थामा तर्न नखोज्नसमेत सम्बन्धित निकायले अनुरोध गरेको छ। हुम्लामा हिमपात नै भएकाे छ।










