लुम्बिनी प्रदेशमा स्क्रब टाइफस र डेंगुको संक्रमण देखिने क्रम बढेको छ। स्वास्थ्य निर्देशनालय लुम्बिनीका अनुसार पछिल्लो ९ महिनामा प्रदेशका १२ जिल्लामा स्क्रब टाइफसको शंकामा २ हजार ७८० जनाको परीक्षण गरिएकोमा २३१ जनामा संक्रमण पुष्टि भएको छ।

स्क्रब टाइफसका शंकास्पद बिरामी सबैभन्दा धेरै दाङमा भेटिएका छन्। दाङमा ६२४ जनामा लक्षण देखिएकोमा ६५ जनामा संक्रमण पुष्टि भएको छ। पाल्पामा ३९६ मध्ये २२ जना र बर्दियामा ३२४ मध्ये पाँच जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

त्यस्तै, रोल्पामा २९३, गुल्मीमा २६१, अर्घाखाँचीमा २४९ र रूपन्देहीमा २१६ जनामा स्क्रब टाइफसको शंका गरिएको छ। रूपन्देहीमा १४ जनामा संक्रमण पुष्टि भएको छ।कपिलवस्तुमा ४८ जनामध्ये तीन, नवलपरासी पश्चिममा ६९ मध्ये चार, प्युठानमा ४७ मध्ये तीन र रुकुम पूर्वमा ७५ मध्ये दुई जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

बाँकेमा १७८ जनामा लक्षण देखिएकोमा पाँच जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। यसैगरी, प्रदेशमा डेंगुको संक्रमण पनि देखिएको छ। पछिल्लो नौ महिनामा ८४६ जनामा डेंगुको शंका गरिएकोमा ८२७ जनामा संक्रमण पुष्टि भएको छ।

डेंगु संक्रमण सबैभन्दा धेरै पाल्पामा देखिएको छ। पाल्पामा २५१ जनामा संक्रमण पुष्टि भएको छ। दाङमा १७८ जनामध्ये १६३, अर्घाखाँचीमा ४८ मध्ये ४५ र अन्य जिल्लामा पनि संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर