काठमाडौं, नेपाली कांग्रेसले महासमिति प्रतिनिधि चयन हुन बाँकी रहेका जिल्लामा २९ असोजभित्र नाम पठाउन निर्देशन दिएको छ ।
१४ औं महाधिवेशनअघि २५ वटा जिल्लामा महासमिति सदस्य चयन भएका छैनन् । मंसिर १३ देखि १५ सम्म हुने महासमिति बैठकका लागि प्रतिनिधि चयन गर्नुपर्ने भएकाले नामावली पठाउन निर्देशन दिइएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट ११ जना महासमिति बैठकका लागि प्रतिनिधि हुने विधानको व्यवस्था छ । निर्वाचन समितिका अनुसार ४५ जिल्लाको महासमिति प्रतिनिधि छनोट पूर्ण रुपमा भइसकेका छन् । एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा अधिकांशमा प्रतिनिधि छनोट भइसकेका छन् । दुई वा सो भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामध्येमा केहीमा कुनै क्षेत्रमा छनोट भइसकेको छ भने कतिपयमा बाँकी छ ।
निर्वाचन समितिका अनुसार कोशीमा मोरङ, सुनसरी, झापाका केही क्षेत्रमा प्रतिनिधि छनोट हुन सकेका छैन । साथै, भोजपुर, ताप्लेजुङ, तेह्रथुम, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा प्रतिनिधि छनोट हुने क्रममा छन् ।