पाल राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशिका मार्फत शेयर बजारमा जने कर्जाको सीमालाई थोरै बढाएको छ।
उसले एकीकृत निर्देशिका मार्फत व्यक्तिगत र संस्थागत लगानीकर्ता भन्दै यस पटकदेखि पहिलो पटक छुट्टाएको छ। जस अनुसार व्यक्तिगतले शेयर धितो राखेर १५ करोड र संस्थागत लगानीकर्ताले २० करोडसम्म ऋण चलाउन पाउने छन्। यस अघि भने १२ करोडसम्म मात्रै चलाउने व्यवस्था थियो।
केन्द्रीय बैंकले सीमा बढाएर १५ वा २० नै पुर्याए पनि शेयर बजारको लागि भने यो सीमा हात्तीको मुखमा जीरा हुने निश्चित छ। किनकि १२ करोडबाट तीन करोड बढाएर १५ करोड पुर्याउनु र १२ बाट बढाएर आठ करोड बढाएर २० करोड पुर्याउनुले २९ खर्ब पूँजीकरण भएको बजारमा खासै अर्थ राख्ने देखिँदैन। एकै दिनमा एक अर्ब भन्दा बढी कारोबार हुने बजारमा नेपाल राष्ट्र बैंकले बढाएको उक्त सीमाले शेयर बजारमा कुनै तात्त्विक परिवर्तन ल्याउने सम्भावना देखिँदैन। बरु राष्ट्र बैकले सीमा परिवर्तन गरेर शेयर बजारलाई गुन लगाएको भनेर जस लिन खोज्ने छ। तर सीमा परिवर्तनले समेत शेयर बजारलाई माथि लैजान नसकेपछि उल्टै राष्ट्र बैंकले आफूले लिएको नीतिको कारण शेयर बजार नघटेको बरु अन्य कारणले शेयर बजारलाई प्रभाव पारेको अभिव्यक्ति गभर्नरबाट आउने सम्भावना बढी छ। किनकि यस अघि नै गभर्नरले त्यसको सङ्केत गत २ असोजमा भएको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकमा गरिसका छन्। शेयर बजार घटेकोले आफूले सबैतिरबाट गाली खाइरहेको तर शेयर बजार भने अर्कै कारणले घटेको अभिव्यक्ति गभर्नरले दिएका थिए।साथै उनले सीमा बढाए पनि शेयर बजारमा कुनै परिवर्तन नहुने दाबी समेत गभर्नरले गर्न भ्याएका थिए। त्यही अभिव्यक्ति सत्यमा साबित हुने छ। किनकि फगत तीन करोड बढाएको सीमाले शेयर बजारलाई खासै असर गर्ने छैन।
नेपाल राष्ट्र बैंकले चौतर्फी दबाब झेल्न नसकेर जसरी उसले सीमा परिमार्जन गर्यो त्यसले शेयर बजार प्रति नेपाल राष्ट्र बैंकले तुष नै साधेको प्रस्ट हुन्छ। किनकि आफै सम्पत्ति धितो राखेर मागे जति ऋण लिन नपाउने व्यवस्था शेयर बाहेक अरू कुनै क्षेत्रमा छैन। सबै क्षेत्रले धितोको मूल्याङ्कन अनुसार ऋण उपभोग गर्दै आइरहेको भएपनि शेयर बजारमा मात्रै व्यक्तिगत सीमा तोक्नु संसारमै अहिलेसम्म नभएको नियम राष्ट्र बैंकले शेयर लगानीकर्ता माथि थोपरेको छ। जुन शेयर बजार प्रति तुष नभएर अरू केही होइन।
शेयर बजार जोखिम युक्त क्षेत्र हो। यो क्षेत्रमा ऋण त्यस्ता मानिस वा संस्थाले मात्रै चलाएर नाफा बनाउन सक्ने सम्भावना हुन्छ। जसले शेयर बजारको राम्रो विश्लेषण र अध्ययन गर्न सक्छ। तर राष्ट्र बैंकले भने यस्तो जोखिम युक्त बजारमा साना लगानीकर्तालाई ऋण लिन उक्साइ रहेको छ भने उनीहरूलाई मात्रै ऋण लिएर शेयर बजार प्रवेश गर्न प्रोत्साहित गरिरहेको छ। किनकि सीमा तोक्नु भनेको त्यही नै हो। तर उसले लिएको नीतिले पनि त्यस्ता लगानीकर्ता उल्लेख्य बढेका भने छैनन्।
सरकार, धितोपत्र बोर्ड र केन्द्रीय बैकले साना लगानीकर्ताको सुरक्षा गर्ने भन्दै गर्दा उनीहरूले प्राथमिक बजारबाट पाएको शेयर होस् वा दोस्रो बजारबाट त्यति बेला नाफा बनाउन सक्छन्। जब बजारमा शेयरको माग बढ्छ। शेयरको माग बढ्दा नै शेयरको मूल्य पनि बढ्ने हो। मूल्य बढे मात्रै साना ठुला सबैले नाफा कमाउन सक्छन्। तर शेयरको माग नै नहुने नीति लिँदा न साना लगानीकर्ताले नै नाफा कमाउन सक्छन् न त ठुलाले नै। दोस्रो बजारमा माग नै ठप्प पार्ने गरी तोकिदिएको सीमाले नै साना लगानीकर्ता मैत्री नेपाल राष्ट्र बैंक छैन भन्ने पुष्टि गर्छ। माग सिर्जना गर्ने विषयमा नै अनुदार भएर सरकार, धितोपत्र बोर्ड र केन्द्रीय बैकले साना लगानीकर्ताको सुरक्षा गर्छु भन्छन् भने उनीहरूले घुमाउरो पाराले साना लगानीकर्तालाई झुटो आश्वासन बाहेक अरू केही दिएको हुनै सक्दैन।